• Wednesday 7th of October 2026

१३ वर्षअघि अरुन्धती रोयले बोलेको विषयमा चल्यो मुद्दा


  • धनकुटा खबर
  • .

बुकर पुरस्कार विजेता भारतीय उपन्यासकार अरुन्धती रोयमाथि मुद्दा चल्ने भएको छ ।

सन् २०१० मा कश्मिरबारे दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि अहिले मुद्दा चल्ने भएको हो । ६१ वर्षीय उपन्यासकार तथा अधिकारकर्मी रोय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रखर आलोचक हुन् ।

मंगलबार दिल्लीको उच्च प्रशासक भिके सक्सेनाले उनीमाथि अदालतमा मुद्दा अघि बढाउने निर्णय लिएका हुन् ।

सार्वजनिक समारोहमा रोयले मुलुकको नीति विपरीतको अभिव्यक्ति दिएकाले उनीविरुद्ध मुद्दा चलाउनका लागि प्रशस्त आधार रहेको सक्सेनाले बताएका छन् ।्

सन् २०१० मा उनले कश्मिर भारतको अधिनमा रहने राज्य नरहेको बताएको भन्दै उनीमाथि मुद्दा अघि बढाउने निर्णय भएको सक्सेनाको भनाइ छ ।

कश्मिरलाई लिएर भारत र पाकिस्तानबीच युद्ध समेत भएको छ भने कश्मिर भारत प्रशासित क्षेत्र समेत हो ।

सन् १९८९ मा भएको युद्धमा हजारौं मानिस मारिएका थिए ।

त्यस बेला रोयसहित दुई जनाविरुद्ध मुद्दा चलेको थियो । १३ वर्षअघि पहिलोपटक मुद्दा दायर भएकोमा उनका सह-प्रतिवादीको मृत्यु भइसकेको छ ।

रोय बुकर पुरस्कार पाउने पहिलो गैर-प्रवासी भारतीय हुन् । आफ्नो पहिलो उपन्यास ‘द गड अफ स्मल थिङ्स’का लागि उनले बुकर पुरस्कार पाएकी हुन् ।

भारतको गरिबीको चित्रण गर्दै सभ्रान्त समुदायको ज्यादतीप्रति उनले आक्रोश ओकलिरहेकी हुन्छन् ।

हालैका वर्षमा उनी मोदी सरकारको प्रखर आलोचक हुन् । भाजपाका कार्यकर्ताको गैरकानुनी आचरणको उनी निर्धक्क विरोध गर्छिन् । मोदी सरकारले स्वतन्त्रता र लोकतन्त्रको पक्षधरलाइ दबाएको रोयको भनाइ हुन्थ्यो ।

आफूविरुद्ध वकालत गर्ने अधिकारकर्मीहरुलाइ आपराधिक मुद्दा लगाएर वाकस्वतन्त्रता दबाउने गरेको उनले बताउँदै आएकी थिइन् ।

दिल्ली प्रहरीकी प्रवक्ताले सरकारले भारतीय कानुनका विभिन्न प्रावधानमा आधारित रहेर भड्काउ अभिव्यक्ति र द्वेष फैलाएको सम्बन्धमा मुद्दा अघि बढाएको बताएकी छिन् ।

रोयविरुद्ध देशद्रोहको अभियोग लगाउँदै कश्मिरका दक्षिणपन्थी हिन्दुवादी समुहले अक्टोबर २०१० मा मुद्दा हालेका थिए ।

भारतको उच्च अदालतले औपनिवेशिक राजद्रोह कानुनमा अब कसैलाइ मुद्दा नचल्ने फैसला विगतमा गरेकाले उनीमाथि हाल मुद्दा चल्न नसक्ने कतिपयको राय छ ।

दशकअघिको मुद्दा अहिले अदालतमा फेरि लैजानु प्रतिशोधपूर्ण कार्य रहेको भन्दै धेरैले आलोचना गरेका छन् ।

अरुन्धत्ती रोयले स्वतन्त्रता एक मात्रै विकल्प नामक सम्मेलनमा सम्बोधन गरेकी थिइन् । सन् २०१० अक्टोबर १ मा भएको उक्त सम्मेलनमा उनले भनेकी थिइन् , ‘भारत सरकारले पनि कश्मिर भारतको अभिन्न नरहेको कुरा विभिन्न कालखण्डमा स्वीकार गरिसकेको छ । म फेरि भन्छु कश्मिर कहिल्यै भारतको अभिन्न अंग थिएन ।’

उनको यो अभिव्यक्तिपछि हिन्दुवादीहरुले रोयले मुलुकको अखण्डताप्रति धावा बोलेको भन्दै मुद्दा जारी गरेका थिए ।

मोदी सरकारले विशेष कानुनै पारित गरेर कश्मिरको स्वायत्तता खोस्ने काम गरेको थियो । रोयमाथि मुद्दा चलाउने निर्णय लिनुअघि सरकारले भाजपाविरोधी पत्रकारहरुको घरमा छापा मार्न राज्य संयन्त्र परिचालन समेत गरेको थियो ।

रोयमाथि राज्यले प्रतिशोधवश मुद्दा अघि बढाएको कतिपय अधिकारकर्मीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖