नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डू गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । काठमाण्डूले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १४ बल बाँकी छँदै पूरा गर्यो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको काठमाण्डूले १९.१ ओभरमा अलआउट हुनुअघि एक सय ११ रन बनाएको हो ।
एनपीएलको दोस्रो संस्करणमा कुनै पनि टोलीले पहिले ब्याटिङ गर्दै बनाएको यो नै सबैभन्दा सानो स्कोर हो । लिग चरणमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले एक सय २० रन बनाएको थियो ।
खेलको प्रारम्भदेखि नै काठमाण्डूका ब्याट्सम्यानहरू लुम्बिनीका बलरसामू निरीह बनेका थिए । काठमाण्डूका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै मैदान प्रवेश गर्ने र पेभेलियन फर्किने क्रम जारी रह्यो ।
काठमाण्डूका अधिकांश ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । टोलीको कुल स्कोर १४ रन पुग्नुअघि नै काठमाण्डूले चार विकेट गुमाइसकेको थियो ।
काठमाण्डूका लागि आठौं नम्बरका ब्याट्सम्यान सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले केवल १७ बलमा एक छक्का पनि हिर्काए ।
नवौँ नम्बरका ब्याट्सम्यान मोहम्मद आदिल आलमले १८ रन बनाए । आदिल आलमले केवल ११ बलमा दुई छक्का र एक चौका हिर्काए । ।
छैटौं नम्बरका ब्याट्सम्यान जोन सिम्पसनले पनि १८ रन नै बनाए । विकेटकिपर ब्याट्सम्यान सिम्पसनले १७ बलमा एक छक्का र एक चौका प्रहार गरे ।
पाँचौं नम्बरमा क्रिज समाल्न आएका अनुभवी खेलाडी भीम सार्कीले १६ बलमा एक छक्काको मद्दतले १४ रन बटुले । ओपनर आकाश त्रिपाठी एक र बेन चार्ल्सवर्थ चार रनमै पेभेलियन फर्किए ।
तेस्रो नम्बरका ब्याट्सम्यान सनी पटेल सात र चौथो नम्बरमा ब्याट्सम्यान मिलिन्द कुमार दुई रनमै आउट भए । रसिद खान पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।
कप्तान करण केसी १४ बलमा एक छक्काको मद्दतले नौ रन बनाए । साहब आलमले टोलीको खातामा अविजित चार रन थपे ।
लुम्बिनीका बलर शेर मल्ल र रोहित पौडेलले तीन–तीन विकेट लिए । शेरले चार ओभरमा २२ रन खर्चिए । कप्तान रोहितले चार ओभरमा २५ रन खर्चिए ।
रुवेन ट्रम्पलम्यानले दुई विकेट हात पारे । अभिशेष गौतमले पनि एक विकेट कुम्ल्याए । काठमाण्डूले अतिरिक्त रूपमा नौ रन पायो ।
