• Sunday 4th of October 2026

लगातर खोकी :फोक्सोको क्यान्सरको सुरुवाती संकेत


  • धनकुटा खबर
  • .

सामान्यतया एलर्जी, रुघाखोकी वा घाँटीमा हुने जलनका कारण खोकी लाग्ने गर्छ। तर यदि खोकी हप्तौँसम्म निको नहुने, झन् बढ्दै जाने र सामान्य उपचारले पनि नथामिने खालको छ भने यसलाई हल्का रूपमा लिन नहुने चिकित्सकहरू बताउँछन्। यस्तो लगातार खोकी फोक्सोको क्यान्सरको सुरुआती लक्षण हुन सक्ने उनीहरूको चेतावनी छ।

फोक्सोको क्यान्सर भनेको फोक्सोभित्रका कोषहरू असामान्य रूपमा बढ्दै गएर ट्युमर बन्ने अवस्था हो, जसले सास फेर्न समस्या ल्याउनुका साथै शरीरका अन्य प्रणालीहरूमा समेत असर पुर्‍याउन सक्छ।

आठ हप्ताभन्दा बढी खोकी खतराको संकेत

भारतको मुम्बईस्थित फोर्टिस अस्पतालका वरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा. अमोल अखाडे भन्छन्, “फोक्सोको क्यान्सरको सबैभन्दा प्रारम्भिक चेतावनी संकेत भनेको आठ हप्ताभन्दा बढी समयसम्म नहट्ने खोकी हो। यस्तो खोकी सामान्यभन्दा फरक सुनिन सक्छ, बारम्बार आउन सक्छ, वा खोकीसँगै रगत वा खैरो–रातो रङको बाक्लो कफ निस्कन सक्छ।”

उनका अनुसार गहिरो सास फेर्दा, हाँस्दा वा खोकी लाग्दा छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, सिठी बजेजस्तो आवाज आउनु (wheezing) र स्वर बस्नु पनि फोक्सोको क्यान्सरसँग सम्बन्धित लक्षण हुन सक्छन्।

बेवास्ता गर्न नहुने अन्य लक्षण

डा. अमोलका अनुसार अत्यधिक थकान महसुस हुनु, कारण नखुलेको तौल घट्नु तथा बारम्बार निमोनिया वा ब्रोंकाइटिसजस्ता फोक्सोको संक्रमण हुनु पनि गम्भीर संकेत हुन्। क्यान्सरले फोक्सोको सामान्य कार्यक्षमता घटाउनुका साथै शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने भएकाले यस्ता समस्या देखिन्छन्।

धूम्रपान मुख्य कारण, तर नधूम्रपान गर्ने पनि जोखिममा

फोक्सोको क्यान्सरको सबैभन्दा ठूलो जोखिमकारक तत्व धूम्रपान नै हो। तर धूम्रपान नगर्ने व्यक्तिमा पनि दोस्रो व्यक्तिको धूम्रपान (second-hand smoke), वायु प्रदूषण, विषालु रसायन तथा केही आनुवंशिक कारणका कारण यो रोग देखिन सक्छ।

प्रारम्भिक पहिचानले ज्यान जोगाउन सक्छ

डा. अमोल भन्छन्, “समयमै रोग पत्ता लागेमा बाँच्ने सम्भावना धेरै बढ्छ। छातीको एक्स–रे, सीटी स्क्यान र बायोप्सीजस्ता परीक्षणबाट रोगको पुष्टि गर्न सकिन्छ। विशेषगरी दीर्घकालीन धूम्रपान गर्ने व्यक्तिले नियमित स्क्रिनिङ गराउनुपर्छ।”

सुरुमा लक्षण नदेखिन सक्छ: विशेषज्ञको चेतावनी

न्युबर्ग जेनेटिक सेन्टरका मोलेक्युलर अन्कोपाथोलोजिस्ट डा. कुन्जल पटेलका अनुसार फोक्सोको क्यान्सर सुरुका चरणमा लक्षण नदेखिन सक्छ। “दुई–तीन हप्तासम्म रहने खोकी सामान्य लाग्न सक्छ, तर समयसँगै खोकी बढ्दै जानु, दुखाइ हुनु वा रगत मिसिएको कफ आउनु गम्भीर संकेत हो,” उनी भन्छन्।

उनका अनुसार आनुवंशिक परीक्षण (genetic testing) ले क्यान्सरसँग सम्बन्धित डीएनए परिवर्तन पहिचान गर्न सहयोग पुर्‍याउँछ, जसले रोगको जोखिम मूल्यांकन र लक्षित उपचार (targeted therapy) तथा इम्युनोथेरापी तय गर्न मद्दत गर्छ।

फोक्सोको क्यान्सरका जोखिम र उपचार

सह्याद्री सुपर स्पेसियलिटी अस्पतालका कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. श्रीनिवास कुलकर्णीका अनुसार तीन हप्ताभन्दा बढी समयसम्म निको नहुने खोकी गम्भीर रोगको संकेत हुन सक्छ। “ट्युमरका कारण सास फेर्ने नली अवरुद्ध हुँदा सास फेर्न गाह्रो हुने, छाती दुख्ने, तौल घट्ने र बारम्बार संक्रमण हुने समस्या देखिन्छ,” उनी भन्छन्।

फोक्सोको क्यान्सर पुष्टि गर्न एक्स–रे, सीटी स्क्यान, ब्रोंकोस्कोपीजस्ता परीक्षण गरिन्छ। सुरुको चरणमै पत्ता लागेमा शल्यक्रिया, औषधि र रेडियोथेरापीबाट राम्रो उपचार सम्भव हुने चिकित्सकहरूको भनाइ छ।

सचेत रहनु नै ज्यान बचाउने उपाय

चिकित्सकहरू भन्छन्— सबै खोकी सामान्य हुँदैन। शरीरले कहिलेकाहीँ गम्भीर समस्याको संकेत यसरी नै दिन्छ। लगातार खोकी, छाती दुखाइ, सास फेर्न समस्या वा रगत मिसिएको कफ देखिएमा ढिला नगरी चिकित्सकको सल्लाह लिनु नै सुरक्षित उपाय हो। समयमै गरिएको जाँच र उपचारले जीवन जोगाउन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖