चीनमा एक गोताखोरले पाँच दिनसम्म पानीमुनि फसेर पनि ज्यान जोगाएको असाधारण घटना सार्वजनिक भएको छ। मध्य चीनको हुनान प्रान्तस्थित स्याङ्सीको फुरोङ सहरका ४० वर्षभन्दा माथिका वाङ नामका गोताखोर जुलाई १९ मा साथीका साथ नदीमा डाइभिङ गर्न गएका थिए। डाइभ सुरु गरेको करिब पाँच मिनेटमै उनी बेपत्ता भएका थिए।
उक्त नदी धेरै गहिरो छ र सतहबाट करिब ९ मिटर तल जटिल पानीमुनी गुफा प्रणालीको प्रवेशद्वार रहेको बताइएको छ। वाङ हराएपछि प्रहरीले तत्काल खोजी सुरु गर्दै स्याङ्सी शुगुआङ उद्धार टोली र दक्षिण चीनको गुआङ्सी क्षेत्रको बैसे सहरबाट विशेष प्रहरी टोलीको सहयोग लिएको थियो।
बैसे विशेष प्रहरीको गुफा डाइभिङ टोलीले दुई पटक गहिरो डाइभ गरेर खोजी गरे पनि सुरुमा कुनै सफलता मिलेन। दोस्रो डाइभका क्रममा उद्धारकर्ताहरूले ढुंगामा कसैले ठोकेको जस्तो आवाज सुने। आवाज प्रष्ट सुनियोस् भनेर डुंगाका इन्जिन बन्द गराइए पनि त्यसपछि आवाज दोहोरिएन।
उद्धार टोली करिब १३० मिटर गहिराइसम्म पुगे पनि कसैलाई फेला पार्न सकेन। तर फर्किने क्रममा करिब १०० मिटर गहिराइमा पुगेपछि ठूलो सफलता हात लाग्यो। स्याङ्सी शुगुआङ उद्धार टोलीका प्रमुख तियान याङलिनका अनुसार, गुफाभित्र फसेका वाङले उद्धारकर्तालाई देखेर ढुंगामा ठोकेका थिए तर कुनै प्रतिक्रिया नआएपछि उनी निराश भएका थिए। वाङले उद्धारकर्ताहरू आफूभन्दा तल गहिराइतर्फ पौडिँदै गएको समेत देखेका थिए।
अक्सिजनको मात्रा केवल चार प्रतिशत मात्र बाँकी रहँदा, उद्धार टोली फर्किँदै आएको देखेपछि वाङ गुफाभित्र रहेको हावाको खाली स्थान (एयर पकेट) बाट पानीमा हाम्फाले र आफूसँग सुरक्षित राखेको टर्च बालेर इशारा गरे। यही क्षण उनको अन्तिम अवसर सावित भयो र उद्धारकर्ताले उनलाई देखेर सुरक्षित रूपमा बाहिर निकाले।
वाङ पाँच दिनसम्म गुफाभित्रको खोक्रो भागमा रहेको हावाको खाली स्थानमा बसेर बाँचेका थिए। उनले पछि बताएअनुसार, गुफामा छिरेपछि समयको पूर्ण होस हराएको थियो र ज्यान जोगाउन उनले काँचो माछा खाएका थिए। आश्चर्यजनक रूपमा उद्धारपछि वाङको अवस्था सामान्य थियो र उनी स्ट्रेचरको सहयोगबिनै हिँड्दै एम्बुलेन्ससम्म पुगेका थिए।
उद्धारकर्तालाई भेटेपछि वाङले भनेका पहिलो शब्दले सबैलाई झन् अचम्ममा पारे— “के तपाईंहरूसँग एउटा चुरोट छ?”
यो घटनाले चीनभर सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। धेरैले यसलाई ‘चमत्कार’ भन्दै वाङको मानसिक दृढता र साहसको प्रशंसा गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “नौ मिटर तल, पूरै अँध्यारो गुफामा पाँच दिन बाँचे। यो त अविश्वसनीय चमत्कार हो।” अर्कोले भने, “पाँच दिनपछि पनि ठीकठाक हुनु, यो केवल भाग्य होइन—असाधारण इच्छाशक्ति हो।”
