काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले नेपाली खसी बजार भारतीय खसी बोकाले कब्जा गर्दा नेपाली खसी बोकाले मूल्य नपाएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै बर्तौलाले वैधानिक तवरबाट नेपालमा एउटा पनि खसी बोका आयात नहुने भए पनि नेपाली बजारमा ६० प्रतिशत बढी खसी बोका भएका उहाँले बताउनुभयो । ‘नेपाल सरकारले वैधानिक तवरबाट एउटा पनि खसी बोका आयात गर्दैन तर ६० प्रतिशत बढी खसी नेपाली बजारमा कसरी आइपुग्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
बर्तौलाले भारतबाट आएका खसी बोका स्वास्थ्यकर र खानयोग्य नभएकोले सीमा सुरक्षा कडा गरी त्यस्ता खसी बोका रोक्नु पर्ने उहाँले बताउनुभयो । नेपालका किसानहरू बजारको माग गर्दै भौँतारिने तर भारतबाट भने अवैध खसी बोका आउने कुरा रोकिनु पर्ने उहाँले बताउनुभयो । ‘सीमा सुरक्षालाई सुदृढ पारियोस्, भारतबाट अवैध ढंगबाट आइरहेको खसी बोकालाई नियन्त्रणमा लिइयोस्’, उहाँले भन्नुभयो ।
कपिलवस्तु, नेपालगञ्ज, बर्दिया लगायतका क्षेत्रबाट अवैध रूपमा खसी बोका आइरहेका प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
विपन्न समुदायको लागि दशैँ राहत प्याकेज घोषणा गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो । चेपाङ, वनकरिया, मुसहर, चमार लगायतका अति विपन्न समुदायको लागि प्रति परिवार कम्तीमा २० देखि ३० हजारसम्मको दशैँ राहत प्याकेज घोषणा गर्न उहाँले माग गर्नुभयो ।
