• Monday 5th of October 2026

अभिनेता कुणाल खेमूमाथि ठगीको आरोप


  • धनकुटा खबर
  • .

मुम्बई । बलिउड अभिनेता कुणाल खेमू र उनका बुबा रवि खेमू फेरि कानुनी झमेलामा परेका छन्। एक फिल्म निर्मातालाई फिल्ममा काम गर्ने भन्दै साइनिङ रकम लिएर पछि काम नगरेको र थप पैसा मागेको आरोपमा मुम्बईको एक अदालतले अन्धेरी पुलिसलाई जवाफ पेस गर्न आदेश दिएको छ।

यो मामला सन् २०२४ मा फिल्म निर्माता रवि दुर्गाप्रसाद अग्रवालले दर्ता गराएको उजुरीमा आधारित छ। अग्रवाल ‘ओभरटेक’ नामको हिन्दी फिल्म बनाउँदै थिए र मुख्य भूमिकाका लागि कुणाल खेमूसँग सम्पर्क गरेका थिए। कुणालले स्क्रिप्ट मन पराएपछि फिल्म गर्ने सहमति जनाए र निर्माताबाट साइनिङ अमाउन्टबापत २१ लाख रुपैयाँ लिएका थिए।

तर फिल्म सुरु हुनुको सट्टा कुणाल र उनका बुबा रवि खेमूले थप पैसा माग्न थाले। यसले फिल्म अघि बढ्न सकेन र निर्मातालाई ठूलो आर्थिक नोक्सान भयो। पैसा फिर्ता नगरेपछि अग्रवालले अधिवक्ता वेदिका चौबेमार्फत कुणाल र उनका बुबाविरुद्ध ठगीको उजुरी दर्ता गराए।

डिसेम्बर २९ मा फर्स्ट क्लास जुडिसियल मजिस्ट्रेट सुजीत कुमार सी. तायडेको अदालतले यो उजुरीमाथि सुनुवाइ गर्दै अन्धेरी पुलिस स्टेसनका इन्चार्जलाई भारतीय दण्ड संहिताको धारा १७५ (३) अन्तर्गत जवाफ पेस गर्न निर्देशन दिएको छ। अदालतले पुलिसलाई यो मामलामा के कारबाही भएको छ भनेर स्पष्ट पार्न भनेको छ।

सन् २०१४ मा पनि निर्माता अग्रवालले कुणाल र उनका बुबाविरुद्ध यस्तै आरोपमा अदालतमा निवेदन दर्ता गरेका थिए, तर सन् २०१७ मा त्यो मुद्दा खारेज भएको थियो। पैसा फिर्ता नभएपछि सन् २०२४ मा फेरि नयाँ उजुरी दर्ता गरिएको हो। समझौता प्रयास असफल भएपछि निर्माताले कानुनी बाटो अपनाएको बताएका छन्।

अहिलेसम्म कुणाल पक्षबाट यो आरोपबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖