• Wednesday 7th of October 2026

इजरायलबाट आउन चाहने ५०३, आइपुगे २५४ जना


  • धनकुटा खबर
  • .

काठमाडौँ । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।

उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

“इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ । जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ,” उनले भने ।

कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको उनको भनाइ छ ।

त्यसैले उनीहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारण गर्न मन्त्री साउदको आग्रह छ । परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन भरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए ।

यस घटनामा परी चार जना नेपाली नागरिक घाइते हुनुभएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्कनुभएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहनुभएको मन्त्री साउदले जानकारी दिए ।

“आक्रमणमा परी सम्पर्कबिहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ”, उनले भने, “यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ ।”

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖