• Wednesday 7th of October 2026

इजरायलबाट स्वदेश आइपुग्दा खुशी भए नेपाली


  • धनकुटा खबर
  • .

काठमाण्डाै – सरकारले इजरायलबाट २ सय ५४ जना नेपालीलाई उद्धार गरेर काठमाण्डौ ल्याएको छ।

बिहीवार बिहानपख काठमाण्डाै आइपुगेका उनीहरु निकै खुसी देखिन्थे । विमानस्थलमा पर्खेर बसेका आफन्तसँग भेट हुनेबित्तिकै उनीहरुले खुशीको आँसु लुकाउन सकेनन्। उनीहरुले आफूहरु भाग्यवश बाँचेको बताए ।

उनीहरुलाई नेपाल एअरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।

उद्धारपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अरुलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।

‘इजरायलको तेल अभिभमा रहेकाे नेपाली राजदूतावासले सुरक्षित ठाउँमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत् आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म ५ सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । यसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गरेकोमा दुई सय ५४ जना स्वदेश फर्किएका छन्’ उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण ठाउँबाट स्थानान्तरण गर्न आवेदन दिएका ५४ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि जानकारी दिनुभयो । यस घटनामा परि चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएका, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिनुभयो ।

‘आक्रमणमा परि सम्पर्कविहीन भएका विपीन जोशीको खोजी निरन्तर जारी छ’, उहाँले भन्नुभयो, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ ।’

इजरायलमाथि हमास समूहको आक्रमणमा परि सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

तेल अभिभबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उहाँको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖