• Thursday 8th of October 2026

कोशी प्रदेशको साइड इफेक्ट धुम्बाराहीदेखि शितल निवाससम्म


  • धनकुटा खबर
  • .

काठमाडौं। पार्टीमा विद्रोह गरेर एमालेको समर्थनमा आफू समर्थित नेता केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने रणनीतिमा नेता शेखर कोइराला लागेपछि त्यसको पराकम्प शितलनिवासम्म पुगेको छ।

आफ्नो मानिस मुख्यमन्त्री नबन्ने अवस्था आएपछि अर्कै दलको नेतालाई मुख्यमन्त्री दिन सभापति देउवा तयार भएको भन्दै एमालेको समर्थनमा कार्कीलाई मुख्यमन्त्री बनाउने रणनीतिमा कोइराला लागेपछि सत्तारुढ दल कांग्रेसमा तरंग उत्पन्न भएको छ।

कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता इन्द्र आङ्बो र एमालेको समर्थनमा शेखर कोइराला समूहबाट केदार कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेपछि कांग्रेसभित्र तरग उत्पन्न भएको छ।

शुक्रबार विहान राष्ट्रपति रामचन्द्र पौडेलले नेता कोइरालालाई फोन गरेर कोशी प्रदेशका विषयमा चासो राखेका थिए।

‘उहाँले (राष्ट्रपति) शेखर दाइलाई फोन गरेर कोशी प्रदेशका नयाँ सरकार गठनका विषयमा चासो राख्नु भएको थियो,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘राष्ट्रपतिज्यूले पार्टीभित्र विवाद गरेर छुट्टै मुख्यमन्त्री बनाउँदा अप्ठेरो पर्छ कि भनेर चिन्ता जनाउनु भयो।’

राष्ट्रपति पौडेलले कार्की पक्षबाट भएको हस्तक्षर फिर्ता लिन आग्रह समेत गरेका थिए।

जवाफमा नेता कोइरालाले आफूले पार्टी बचाउन कार्कीलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको जवाफ दिएका थिए। कोइरालाले पार्टीभित्रैबाट मुख्यमन्त्री बनाउनु पर्छ भनेर पार्टीभित्र छलफल गर्न खोज्दा छलफल गर्न चनाहेपछि बाध्य भएर आफूले पार्टी बचाउन कार्कीलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको बताएका थिए।

‘मैले कुनै एक व्यक्तिको नाम लिएको पनि थिएन। पार्टीभित्र जसको नाममा समर्थन जुटछ, यसैको नेतृत्वमा सरकार गठन गरौं भनेर धेरै कोशिस गरेँ,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर पार्टी नेतृत्वमा आफूले भनेको व्यक्ति नभए सरकारको नेतृत्व अरु पार्टीलाई नै दिन तयार भएपछि बाध्य भएर पार्टी बचाउन यस्तो कदम चालेको हुँ। म यसबाट ब्याक हुने अवस्था छैन।’

यसैगरी नेता कोइरालालाई सभापति देउवाले आफ्नो विश्वासपात्र नेता ज्ञानेन्द्रबहादुर कार्कीमार्फत केदार कार्की पक्षबाट भएको हस्तक्षर फिर्ता लिन आग्रह गरेका थिए।

कार्कीले गठबन्धन बचाउन र पार्टीभित्रको विवाद मिलाउन पनि केदार कार्की पक्षबाट भएको हस्तक्षर फिर्ता लिन आग्रह गरेका थिए।
तर नेता कोइरालाले आफू अगाडि बढिरहेको र अब ब्याक हुने अवस्था नरहेको जवाफ दिएका थिए।

‘कोशीमा कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्छ भनेर मैले पार्टीमा उठाएको आवाज तपाईं जस्ता जिम्मेवार नेताले सुन्नै चाहनु भएन,’ कार्कीलाई नेता कोइरालाले भनेका थिए, ‘आफूले भनेको व्यक्ति मुख्यमन्त्री नहुने अवस्था आउँदा सरकारको नेतृत्व नै अर्को पार्टीलाई सुम्पिने कामलाई मैले करेक्सन गरेको मात्र हो।’

कोशी प्रदेशमा मुख्यमन्त्रीमा केदार कार्की र इन्द्र आङ्बोले दाबी पेश गरेका छन् ।

कांग्रेसका ८ जना प्रदेश सांसदहरुले विद्रोह गरेर मुख्यमन्त्रीमा केदार कार्कीले दाबी पेश गरेका थिए। प्रदेश सांसद कार्कीको नेतृत्वमा मुख्यमन्त्रीको दाबा सहित ८ जना नेपाली कांग्रेस सांसदहरु र ३९ जना एमालेका प्रदेश सांसदहरु सहित ४७ जनाको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङलाई बिहीबार बुझाएका छन् ।

उता माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई समर्थन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका ४७ जना सांसदहरुले हस्ताक्षर गरेको पत्र बुझाएका थिए ।

दवै पक्षबाट ४७/४७ जनाको दाबी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आवश्यक संवैधानिक र कानुनी व्यवस्था बारे सुझाव लिएर निर्णय गर्ने बताएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले असोज २० गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि दाबी पेश गर्न असोज २६ गते अपरान्ह ५ बजे सम्मको समय तोकेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖