• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाको प्रहरीमा कार्यरत नेपाली मूलका प्रदीप तामाङको गोली हानि हत्या


  • धनकुटा खबर
  • .

न्यूयाेर्क। अमेरिकाको जर्जियामा स्थानीय प्रहरी अधिकृत पदमा कार्यरत प्रदीप तामाङको हत्या भएकाे छ। कर्तव्य निर्वाहका क्रममा आइतबार बिहान साे राज्यस्थित ग्विनेट काउन्टीमा स्टोन माउन्टेन क्षेत्रको एक होटलमा भएको गोलीकाण्डमा उनी मारिएका हुन्।

काउन्टी प्रहरी विभागलाइ उद्धृत गर्दै स्थानीय स‌चारमाध्यमहरुले जनाएअनुसार, आइतबार बिहान करिब ७:३० बजे होटलमा भएको ठगीसम्बन्धी उजुरीको जवाफ दिन तामाङ र उनका सहकर्मी एमपीओ डेभिड रिड ‘होलिडे इन एक्सप्रेस’ होटल पुगेका थिए। होटलको कोठामा छलफलकै क्रममा ३५ वर्षीय केभिन एन्ड्रयूजले अचानक बन्दुक निकालेर गोली चलाएका थिए। त्यसक्रममा भएको गोली हानाहानमा तामाङ घटनास्थलमै वीरगति प्राप्त गर्न पुगे।

उक्त घटनामा एमपीओ डेभिड रिड गम्भीर घाइते भएका छन्। अस्पतालमा उपचाररत उनी हाल स्थिर अवस्थामा रहेको प्रहरीले जनाएको छ। आक्रमणकारी एन्ड्रयूज पनि घाइते भए तापनि उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

२५ वर्षीय प्रदीप तामाङ सन् २०२५ देखि साे काउन्टी प्रहरी विभागमा कार्यरत थिए। करिब १० वर्षअघि नेपालबाट अमेरिका आएका तामाङ यसअघि पेन्सिल्भेनियामा बसोबास गर्दै आएका थिए। उनका परिवारका सदस्य र मंगेतर पनि त्यहीँ रहेका छन्। प्रहरी विभागले तामाङको परिवारलाई जर्जियामा ल्याउने पहल गरिरहेको जनाएको छ।

काउन्टी प्रहरी प्रमुख जे.डी. म्याक्लुरले तामाङको निधनलाई “कर्तव्यमा समर्पित एक बहादुर प्रहरी अधिकारीको अपूरणीय क्षति” भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। काउन्टी अध्यक्ष निकोल लभ हेन्ड्रिक्सनले पनि समुदायलाई एकताबद्ध भई शोकसन्तप्त परिवारप्रति सहानुभूति प्रकट गर्न आग्रह गरेकी छन्।

घटनाको अनुसन्धान जर्जीया ब्युराे अप इन्भेष्टिगेसनले गरिरहेको छ। कर्तव्यप्रति निष्ठा, साहस र सेवाभावका प्रतीक प्रदीप तामाङको असामयिक निधनले नेपाली समुदायसहित सम्पूर्ण ग्विनेट काउन्टी शोकमा डुबेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖