• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

दलाई लामालाई ग्रामी अवार्ड दिएकोमा चीन क्रुद्ध


  • धनकुटा खबर
  • .

बेइजिङ । तिब्बती आध्यात्मिक गुरु दलाई लामाले संगीत क्षेत्रको प्रतिष्ठित ‘ग्रामी अवार्ड’ जितेपछि चीनले कडा आपत्ति जनाएको छ। दलाई लामालाई सम्मान दिइनु ‘चीनविरोधी राजनीतिक गतिविधि’ भएको भन्दै बेइजिङले यसको चर्को विरोध गरेको हो।

९० वर्षीय दलाई लामाको अडियो पुस्तक ‘मेडिटेसन्स: द रिफ्लेक्सन्स अफ हिज होलनेस द दलाई लामा’ ले यस वर्षको ‘अडियोबुक’ विधामा ग्रामी अवार्ड हात पारेको छ। यो खबर सार्वजनिक भएलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलन गर्दै कलाका पुरस्कारहरूलाई चीनविरुद्ध राजनीतिक औजारका रूपमा प्रयोग नगर्न चेतावनी दिएका छन्। चीनले दलाई लामालाई लामो समयदेखि विखण्डनकारी र विद्रोही नेताका रूपमा लिँदै आएको छ।

भारतको धर्मशालामा निर्वासनमा रहेका नोबेल शान्ति पुरस्कार विजेता दलाई लामाले सामाजिक सञ्जालमार्फत यो सम्मानलाई कृतज्ञता र विनम्रताका साथ स्वीकार गर्ने बताएका छन्। उनले यसलाई आफ्नो व्यक्तिगत सफलताभन्दा पनि साझा विश्वव्यापी उत्तरदायित्वको पहिचानका रूपमा लिएको उल्लेख गरेका छन्। दलाई लामाको तर्फबाट संगीतकार रुफस वेनराइटले सो अवार्ड ग्रहण गरेका थिए।

तिब्बती परम्पराअनुसार दलाई लामाले आफ्नो उत्तराधिकारी चयन गर्ने योजना सार्वजनिक गरेपछि पछिल्लो समय चीनसँगको सम्बन्ध थप तनावपूर्ण बनेको छ। सन् १९५९ देखि निर्वासनमा रहेका दलाई लामाले आफ्नो पुनर्जन्म ‘स्वतन्त्र विश्व’ मा हुने बताउँदै आएका छन्। तर, चीनले भने उत्तराधिकारी चयन चिनियाँ कानुन, धार्मिक अनुष्ठान र बेइजिङको स्वीकृतिअनुसार हुनुपर्ने अडान राख्दै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖