इस्लामवाद । पाकिस्तानको इस्लामवादको शिया इमामबारगाहमा शुक्रबार भएको बम विस्फोट घटनाको विश्वभरका नेताहरूले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायत विश्वभरका नेताहरूले सो घटनाको निन्दा गरेका हुन् ।
सो विस्फोटमा ३१ जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ट्विटरमा लेख्दै भनेका छन्, ‘म पाकिस्तानको इस्लामवादमा रहेको मस्जिदमा पूजा गर्नेहरूमाथि भएको आक्रमणको निन्दा गर्दछु। नागरिक र पूजास्थलहरूमा भएका आक्रमणहरू अस्वीकार्य छन्। सो घटनाका दोषीहरूलाई पहिचान गरी तुरुन्त न्यायको कठघरामा ल्याउनुपर्छ।’
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सो घटनाको निन्दा गरेका छन् । उनले भनेका छन्, ‘पाकिस्तानको इस्लामवाद नजिकैको मस्जिदमा भएको बम विस्फोटको घटनाबारे थाहा पाउँदा अत्यन्तै दुःखी छु, सो घटनामा कम्तीमा ३१ जनाको मृत्यु भएको छ र १५० भन्दा बढी घाइते भएका छन्।’ उनले पाकिस्तानका जनता, पीडित, घाइते र उनीहरूका प्रियजनहरूलाई क्यानडाको तर्फबाट समवेदना समेत प्रकट गरेका छन् ।
त्यस्तै,बेलायती विदेश मन्त्री यभेट कूपरले ट्विटरमा पोस्ट गरेका छन्, ‘म पीडितहरू, उनीहरूका परिवारहरू र प्रभावित सबैको पक्षमा छु। बेलायत आतङ्कवाद विरुद्धको लडाइँमा र यस्तो अर्थहीन हिंसाबाट प्रभावित सबै समुदायहरूको समर्थनमा पाकिस्तानको साथमा उभिएको छ।’
