• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचन सुरक्षाका लागि भारत सरकारले नेपाली सेनालाई सहयोगस्वरूप उपलब्ध गराएको ५० वटा सवारी साधन नेपाल भित्रिए


  • धनकुटा खबर
  • .

काठमाडौ । निर्वाचन सुरक्षाका लागि भारत सरकारले नेपाली सेनालाई सहयोगस्वरूप उपलब्ध गराएको ५० वटा सवारी साधन आइतबार भैरहवा नाकाबाट नेपाल भित्रिएका छन्।

भैरहवा भन्सार कार्यालयका अनुसार ती सवारी साधन भारतको जब्बलपुरबाट ल्याइएका टाटा कम्पनीका २०२५ मोडेलका मिनी ट्रक हुन्। करिब ३० करोड रुपैयाँ मूल्य बराबरका ती गाडी नेपाल सरकारको निर्णयअनुसार भन्सार सहुलियतमा नेपाल ल्याइएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी भारत सरकार र नेपाल सरकारबीचको आपसी समझदारीअनुसार भारतीय सेनामार्फत नेपाली सेनालाई ती गाडी सहयोग गरिएको जनाइएको छ। भन्सार कागजातअनुसार गाडीको मूल्य १८ करोड ४२ लाख ८८ हजार ४ सय ७० भारतीय रुपैयाँ उल्लेख गरिएको छ।

भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले अर्थ मन्त्रालयको राजश्व छुटसम्बन्धी निर्णयसहितको पत्रका आधारमा गाडीहरू भन्सार छुटमा भित्रिएको जानकारी दिए। उनका अनुसार ७.५ टन क्षमताका २० वटा र २.५ टन क्षमताका ३० वटा गरी दुई प्रकारका मिनी ट्रक आएका छन्।

नेपाली सेनाका उच्च अधिकारीसहितको टोलीको उपस्थितिमा भन्सार जाँचपास प्रक्रिया सम्पन्न गरी ती गाडीहरू सुरक्षासहित भैरहवाबाट काठमाडौंतर्फ लगिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले निर्वाचन प्रयोजनार्थ नेपाल–भारत आपसी सहकार्यअनुसार सवारी साधन प्राप्त भएको पुष्टि गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖