काठमाडौँ । हास्य कलाकार चिरञ्जीवी पुडासैनी (धतुरे)की पत्नी शर्मिला चौलागाईं यातायात सम्बन्धी सेवामा पास गरिदिने प्रलोभन देखाएर रकम असुलेको आरोपमा प्रहरी नियन्त्रणमा परेकी छन्।
प्रहरी स्रोतका अनुसार उनले दक्षिण ढोका यातायात व्यवस्था कार्यालयसँग निकटता रहेको दाबी गर्दै लिखित तथा ट्रायल परीक्षामा पास गरिदिने भन्दै सेवाग्राहीबाट प्रतिव्यक्ति ७ हजार रुपैयाँ उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
सूचना प्राप्त भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्सिर १७ गते उनलाई काठमाडौँबाट नियन्त्रणमा लिएको थियो।
कागेश्वरी मनोहरा नगरपालिका–५, मूलपानी बस्दै आएकी ३६ वर्षीया चौलागाईंले सात वर्षदेखि अनलाइन फारम भर्ने सेवा सञ्चालन गर्दै आएको र सोही आवरणमा अवैध असुली गरेको आशंका प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनको मोबाइलबाट सेवाग्राहीले पठाएको रकमका स्लिप, सन्देश तथा लेनदेनका प्रमाण भेटिएको बताइएको छ।
प्रहरीले यस घटनामा यातायात कार्यालयका केही कर्मचारीसँग मिलेमतो रहेको हुन सक्ने आशंकामा थप अनुसन्धान अघि बढाएको छ। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा बुझाइएको थियो। प्रहरी स्रोतका अनुसार केही दिन हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
यस प्रकरण सार्वजनिक भएसँगै उनका श्रीमान् चिरञ्जीवी पुडासैनीको सामाजिक तथा राजनीतिक भूमिकामाथि समेत चर्चा सुरु भएको छ। उनी केही समयअघि कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’मा प्रवेश गरेको बताइएको छ।
प्रहरीले घटनाबारे औपचारिक अभियोग दर्ता र कानुनी प्रक्रिया सम्बन्धी विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।
