काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाले आफूले चुनाव नजित्ने देखेपछि भाँड्न खोजेको आरोप लगाएका छन्। भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो पक्षमा नतिजा नआउने देखेपछि रास्वपाले अनेकन हत्कन्डाहरू प्रयोग गर्न थालेको बताए।
उनले भने,’रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालिसकेको छ। त्यसकारण अरूको झन्डा जलाउने, नानाथरी बखेडाहरू झिक्ने, असहज परिस्थितिहरू सिर्जना गर्ने, अनेकन हत्कन्डाहरू प्रयोग गर्ने तनाव बढाउन खोज्ने र चुनाव भाँड्ने पक्षमा गएको अनुमान गर्न सकिन्छ।’
उनले रास्वपा आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, अर्काको पक्षमा आउँछ भने हुन नदिने खालको प्रवृत्तिमा देखा परेको बताए। रास्वपाको केही दिनयताका घटनाक्रमहरू हेर्दा चुनाव भाँड्नतिर केन्द्रित भएको देखिएको बताए।
उनले भने,’निर्वाचन भनेको बलजफती गर्ने विषय होइन। निर्वाचन नियम कानुनभित्र स्वच्छ प्रतिस्पर्धा, स्वस्थ प्रतिस्पर्धा र शान्तिपूर्ण वातावरण र निष्पक्ष, धाँधलीरहित चुनाव हुनुपर्छ। शान्तिपूर्ण वातावरणमा हुनुपर्छ। मतदाताले निर्भय वातावरणमा गएर बिना कुनै दुविधा आफ्नो स्वेच्छाको मत निर्बाध दिन पाउनुपर्दछ। त्यो मात्रै निर्वाचन हुन्छ। त्यसको सम्पूर्ण प्रक्रिया, मतगणना र परिणाम घोषणासम्म सम्पूर्ण प्रक्रिया, मतदान अगाडिदेखिका प्रक्रिया पारदर्शी हुनुपर्छ, निष्पक्ष हुनुपर्छ।’
उनले आफूले सधैँ शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्ने कुरा उठाइरहेको बताए। उनले थपे,’वातावरण शान्तिपूर्ण देखिराखेको छैन र शान्ति भड्काउन खोजिने प्रयासहरू निकै देखिन्छन्। यस्तो खालको परिस्थिति छ। यसै परिस्थितिलाई ध्यानमा राखेर सबै पक्षहरूबाट चिन्ता जाहेर भएको पनि देखियो। आआफ्ना स्वार्थ पनि हुनसक्छ। तर जे भए पनि यतिबेला विभिन्न कोणहरूबाट कुराहरू आएको छ। निर्वाचनपछि पनि द्वन्द्व कायम रहने स्थिति देखिन्छ त्यसकारण द्वन्द्वका कारणहरू पहिले समाधान गरेर निर्वाचनमा जाऔँ भन्ने कुराहरू पनि देखिन्छ। त्यसमा विभिन्न पक्षहरू हुन सक्दछन् तर यो विचारणीय कुरा त छ।’
उनले सबै कुराको निराकरण गर्नको लागि राजनीतिक दलहरूले जिम्मेवारीबोध गर्नुपर्ने बताए।
