• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

‘खस्रो देखिए पनि भित्रबाट मिठो छु’:हर्क साम्पाङ


  • धनकुटा खबर
  • .

सर्लाही। सर्लाहीको लाल बन्दीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको मूल विचार श्रम, आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमान भएको बताएका छन्।

उनले विदेशी सोच र सहयोगमा होइन, आफ्नै पसिना र परिश्रमले देश बनाउने अडानसहित अघि बढेको दल नै श्रम संस्कृति पार्टी भएको दाबी गरे। देश परिवर्तन चाहने सबैका लागि यो साझा प्लेटफर्म भएको उल्लेख गर्दै उनले साथ र समर्थनको अपिल गरे।

मधेशमा पहिलो पटक सम्बोधन गर्न आएको उल्लेख गर्दै साम्पाङले यहाँ अन्य स्थानभन्दा बढी चुनौती रहेको संकेत गरे। यद्यपि उनले समस्याको स्पष्ट विवरण दिएनन्, तर ती सबै समाधानका लागि श्रम संस्कृति पार्टीलाई मजबुत बनाउनु आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा उनले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुमन अधिकारीलाई इमानदार र योग्य व्यक्ति भन्दै विजयी गराउन आग्रह गरे। ठट्यौली शैलीमा उनले भने, ‘यदि उहाँ असल हुनुहुन्छ भने भोट दिनुहोस्, नराम्रो लागे नदिनुहोस्।’ उनको यो अभिव्यक्तिले उपस्थित कार्यकर्तामाझ हाँसो र उत्साह पैदा गरेको थियो।

आफ्नो कार्यकालको अनुभव सुनाउँदै साम्पाङले धरानका बासिन्दाका लागि मेयर हुँदा साढे तीन वर्षसम्म ढुंगा बोकेरै विकास निर्माणमा लागेको बताए। शनिवार समेत काम गर्दै श्रम संस्कृतिको अभ्यास गरेको उनको भनाइ थियो। उनले आफ्नो पार्टीमा नेता–कार्यकर्ताको भेदभाव नरहने र सबै श्रमिकको भूमिकामा रहने स्पष्ट पारे।

आफ्नो स्वभावबारे टिप्पणी गर्दै उनले भने, ‘म बाहिरबाट खरो जस्तो देखिन सक्छु, तर छाम्दा खस्रो र चाख्दा मिठो हुन्छु।’ साथै उनले विदेशी शक्तिसँग नझुक्ने तर समान हैसियतमा मित्रता राख्ने नीति रहेको बताए। “हामी कसैको टाउकोमा टेक्न दिँदैनौँ, नेपाल आमाको छातीमाथि विदेशी बुट बजार्न दिँदैनौँ,” उनले जोड दिए।

विकास मात्र ठुलो कुरा नभई देश स्वयं विकासभन्दा पनि माथि हुने भन्दै उनले राष्ट्रिय स्वाभिमान जोगाउन श्रम संस्कृति पार्टीलाई मत दिन आग्रह गरे। ‘देश बनाउने अभियानमा दुई अञ्जुली माटो जोगाउन हामीलाई साथ दिनुहोस्,’ उनले भावुक अपिल गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖