• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अयातोल्लाह अली खामेनी : जसले इरानलाई कहिल्यै अमेरिकासामु झुक्न दिएनन्


  • धनकुटा खबर
  • .

शनिबार इरानका सर्वोच्च नेता अली खामेनीको निवासमा भएको अमेरिका-इजरायल संयुक्त हवाई आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको घोषणा गरेका छन्। ट्रम्पले खामेनी र अन्य इरानी अधिकारीहरू अमेरिकी जासुसी संयन्त्र र अत्याधुनिक ट्र्याकिङ प्रणालीबाट उम्कन नसकेको बताएका छन्।

इरानले पनि देशमा जारी अमेरिका र इजरायलको आक्रमणमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नातिको पनि मृत्यु भएको छ।

एक दशकअघि इस्लामिक क्रान्तिको नेतृत्व गरेका प्रभावशाली नेता अयातोल्लाह रुहोल्लाह खोमेनीको निधनपछि सन् १९८९ मा खामेनीले इस्लामिक गणतन्त्र इरानको सर्वोच्च नेताका रूपमा नेतृत्व सम्हालेका थिए।

खामेनी पहलवी राजतन्त्रको अन्त्य गर्ने क्रान्तिका वैचारिक शक्ति थिए भने, उनले सैन्य र अर्धसैनिक संयन्त्रलाई आकार दिए। यसैले इरानलाई शत्रुहरूबाट बचाउने मात्र नभई यसको सिमानाभन्दा धेरै परसम्म इरानको प्रभाव विस्तार गर्न मद्दत गर्‍यो।

सर्वोच्च नेता हुनुअघि उनले सन् १९८० को दशकमा इराक सँगको रक्तपातपूर्ण युद्धमा राष्ट्रपतिको रूपमा इरानको नेतृत्व गरेका थिए। विश्लेषकहरूका अनुसार, पश्चिमी देशहरूले इराकी नेता सद्दाम हुसेनलाई समर्थन गर्दा इरानीहरूमा पैदा भएको एक्लोपनको महसुस र त्यो विनाशकारी युद्धले खामेनीमा समग्र पश्चिम र विशेषगरी अमेरिकाप्रतिको अविश्वासलाई गहिरो बनाइदिएको थियो।

यही भावनाले उनको दशकौँसम्मको शासनलाई आधार दियो र इरानले बाह्य र आन्तरिक खतराहरूविरुद्ध निरन्तर रक्षात्मक अवस्थामा रहनुपर्छ भन्ने विचारलाई स्थापित गर्‍यो।

इरानी मामिलाका विशेषज्ञ तथा इरान्स ग्रान्ड स्ट्राटेजी: ए पोलिटिकल हिस्ट्रीका लेखक वली नस्र भन्छन्, ‘मानिसहरू इरानलाई धर्मतान्त्रिक देश मान्छन् किनभने खामेनी फेटा बाँध्थे र राज्यको भाषा धर्मको भाषा थियो। तर वास्तवमा, उनी युद्धबाट उदाएका एक युद्धकालीन राष्ट्रपति थिए, जसको मान्यता इरान जोखिममा छ र यसलाई सुरक्षाको आवश्यकता छ भन्ने थियो। अमेरिका इरानको शत्रु हो, र क्रान्ति, इस्लामिक गणतन्त्र र राष्ट्रवाद छुट्टाछुट्टै कुरा होइनन्, त्यसैले यिनको रक्षा गर्नुपर्छ भन्ने उनको बुझाइ थियो।’

यही दृष्टिकोणअन्तर्गत, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) एक अर्धसैनिक बलबाट शक्तिशाली सुरक्षा, राजनीतिक र आर्थिक संस्थाको रूपमा विकसित भयो, जुन मध्यपूर्वभरि इरानको प्रभाव विस्तारको केन्द्रविन्दु बन्यो। खामेनीले पश्चिमी देशहरूको कठोर प्रतिबन्धको सामना गर्न आत्मनिर्भरता बढाउने उद्देश्यले ‘प्रतिरोधको अर्थतन्त्र’ लाई प्रवर्द्धन गरे। उनले पश्चिमाहरूसँगको संवादप्रति सधैं शंका व्यक्त गरे र रक्षामा मात्रै केन्द्रित हुँदा आवश्यक सुधारहरू रोकिएको भन्दै आलोचना गर्नेहरूलाई कडा जवाफ दिए।

तर उनको शासनकालले वर्षौँदेखि गम्भीर परीक्षणहरूको सामना गर्नुपर्‍यो। सन् २००९ मा धाँधलीपूर्ण राष्ट्रपतीय चुनावको आरोप लगाउँदै सडकमा उत्रिएका प्रदर्शनकारीहरूमाथि क्रूर दमन गरियो। त्यसैगरी, सन् २०२२ मा महिला अधिकारको विषयलाई लिएर भएको आन्दोलनमा पनि कडा रवैया अपनाइयो।

सायद उनको शासनमाथिको सबैभन्दा ठुलो चुनौती यसै वर्षको जनवरीमा आयो, जब आर्थिक कठिनाइका कारण सुरु भएको विरोध प्रदर्शन देशव्यापी विद्रोहमा परिणत भयो। धेरै प्रदर्शनकारीहरूले सीधै इस्लामिक गणतन्त्रलाई फ्याँक्न आह्वान गरे। अधिकारीहरूको कडा प्रतिक्रियाका कारण सन् १९७९ को क्रान्तिपछिकै सबैभन्दा हिंसात्मक झडप भयो।

आलोचकहरूले उनलाई सुधार र आर्थिक समृद्धि चाहने युवा जनसङ्ख्याको चाहनाभन्दा धेरै टाढा रहेको र सधैँ अमेरिका र इजरायलसँगको छाया युद्ध र एक्लोपनमा मात्रै रमाइरहेको नेताका रूपमा हेर्थे।

‘इरानीहरूले राष्ट्रिय स्वतन्त्रताको यो हदसम्मको जिद्दीका लागि धेरै ठुलो मूल्य चुकाउनुपर्‍यो। यसै क्रममा उनले इरानी जनताको विश्वास गुमाए किनभने जनताले अब यो स्वतन्त्रताको औचित्यमा विश्वास गर्न छाडिसकेका थिए,’ नस्रले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖