• Wednesday 7th of October 2026

अब सरकारी कोटामा नेपाली कामदार जर्मनी जान पाउने, खर्च नलाग्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । बेलायत र रोमानियापछि जर्मनीमा पनि सरकारी कोटामा नेपाली कामदार जर्मनी जान पाउने भएका छन् ।

सामाजिक सुरक्षाको सुविधासहित उच्च आम्दानी हुने गरी रोजगारीका लागि सरकारले जर्मनीसँग आज सम्झौता गर्दैछ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत असोज १९ गते मात्रै रोमनियासँग श्रम सम्झौता गरेको थियो।

वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने नेपाल सरकारको नीतिअनुरुप विभिन्न मित्रराष्ट्रहरुबीच द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै नेपालबाट गएका प्रतिनिधिले जर्मनीसँग सम्झौताको तयारी गरेका हुन्।

मन्त्रालयका सहसचिव राजिव पोखरेलले जर्मनीसँग नेपालले आज श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने बताए । उनकाअनुसार नेपालबाट गएका टोलीले रोजगारीको आकर्षक गन्तव्य बनेको रोमनिया र जर्मनीसँग श्रम समझदारी गर्ने योजना बनाएको थियो । सोहीअनुसार जर्मनीसँग औपचारिक रुपमा श्रम समझदारी गर्नेछ ।

जर्मनीसँग श्रम समझदारी भएसँगै नेपालबाट जीटुटीमार्फत नेपाली कामदार सहजै जर्मनी जान पाउनेछन् । हाल पनि नेपाली नागरिकहरु लाखौं खर्चेर जर्मनी पुगिरहेको अवस्थामा सरकारले रोजगारीको सम्भावित देशसँग समझदारी गरेर वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएको मन्त्रालयले जनाएको छ ।

सहसचिव पोखरेलले जर्मनीले नेपालबाट प्रशिक्षर्थी श्रमिक लैजाने गरी समझदारी गर्ने तयारी गरेको बताए । उनकाअनुसार नेपाली श्रमिकहरुलाई जर्मनीले एक वर्ष व्यवसायिक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउनेछ ।

‘हालसम्म कुन क्षेत्रमा प्रशिक्षार्थी लैजाने भन्नेबारे कुनै निश्चित भएको छैन । सम्झौतापश्चात् भने कस्तो क्षेत्रमा कति कामदार लैजाने हो भन्ने बारेमा स्पष्ट हुनेछ । त्यसमा रोजगारीको क्षेत्रमा माग भएअनुसारको कामदार पठाउनेछौं,’ उनले क्लिकमान्डुसँग भने ।

जर्मनीसँग हुन लागेको सम्झौताअनुसार नेपाली श्रमिक निःशुल्क जान पाउनेछन् । सरकारले जाने खर्चदेखि रोजगारीमा रहेको बेलाको खाने, बस्ने निःशुल्क हुने उनको भनाइ छ । साथै, मासिक आम्दानी पनि राम्रो हुने उनले बताए ।

‘नेपालको तुलनामा जर्मनीमा मासिक आम्दानी राम्रो नै छ,’ उनले भने, ‘एक वर्षको तालिम प्रदान गरेर दक्ष भई बजारमा पठाउने हो । त्यसैले, आफ्नो क्षमताअनुसार आम्दानी पनि आकर्षक हुने अपेक्षा गरेको छ ।’

मन्त्रालयले उक्त रोजगारीबाट धेरै नेपाली लाभान्वित हुने अनुमान गरेको छ । रोजगारीमा जानका लागि भने विभिन्न परीक्षा लिइ पठाउने सरकारको तयारी छ । त्यसका गाि अनिवार्य जर्मनी भाषा गोथेमा भने दक्ष हुनुपर्नेछ । त्यसबाहेकको अन्य योग्यता सम्झौता भई प्रक्रियामा गइसकेपछि प्रष्ट हुने उनले बताए ।-क्लिकमान्डु

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖