• Monday 5th of October 2026

म्याच फिक्सिङको आरोपमा पूर्वआईपीएल खेलाडीसहित तीन जना निलम्बित


  • धनकुटा खबर
  • .

बार्बाडोस । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्टाचार विरोधी नियम उल्लंघन गरेको गम्भीर आरोपमा वेस्टइन्डिजका तीव्र गतिका अलराउन्डर जाभोन सर्ल्ससहित तीन जनालाई सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको छ। बार्बाडोसमा सञ्चालित सन् २०२३-२४ को बिम-१० प्रतियोगिताका क्रममा फिक्सिङमा संलग्न भएको पाइएपछि सर्ल्ससँगै टाइटन्स फ्रान्चाइजीका मालिक चित्ररञ्जन राठौर र टोलीका अधिकारी ट्रेभन ग्रिफिथमाथि प्रतिबन्ध लगाइएको हो।

निलम्बनमा परेका सर्ल्सले वेस्टइन्डिजको यू-१९ टोलीबाट खेलिसकेका छन् भने क्यारेबियन प्रिमियर लिगमा ट्रिनबागो नाइट राइडर्स र सन् २०१८ को आईपीएलमा कोलकाता नाइट राइडर्सको प्रतिनिधित्व गरेका थिए। उनीमाथि वेस्टइन्डिज क्रिकेटको भ्रष्टाचार विरोधी संहिता अन्तर्गत चारवटा गम्भीर आरोप लगाइएको छ।

आईसीसीका अनुसार यी तीनै जनामाथि म्याच फिक्सिङ गरेको, अन्य खेलाडीहरूलाई भ्रष्ट गतिविधिमा लाग्न उक्साएको र अनुसन्धानमा सहयोग नगरेको मुख्य अभियोग छ। सर्ल्स र ग्रिफिथमाथि आफूलाई आएका भ्रष्ट प्रस्तावहरूबारे अधिकारीहरूलाई समयमै जानकारी नदिएको आरोप समेत छ।

विशेषगरी ग्रिफिथमाथि भने अनुसन्धानमा बाधा पुर्‍याएको र महत्त्वपूर्ण जानकारीहरूमा छेडछाड गरेको थप आरोप लगाइएको छ। १०-१० ओभरको संरचनामा खेलिने यो प्रतियोगितामा भएका यी अनियमितताका विषयमा अमेरिकी ब्याट्सम्यान आरोन जोन्समाथि पनि यसअघि नै पाँचवटा आरोप लगाइिसकिएको छ।

आईसीसीले यी तीनै आरोपितलाई सन् २०२६ मार्च ११ देखि लागु हुने गरी १४ दिनभित्र स्पष्टीकरण पेस गर्न समय दिएको छ। बिम-१० प्रतियोगिता वेस्टइन्डिज क्रिकेटको प्रत्यक्ष निगरानीमा हुने भए तापनि भ्रष्टाचार विरोधी नियमहरूको पालना गराउने सन्दर्भमा आईसीसी र क्रिकेट वेस्टइन्डिज दुवैले संयुक्त रूपमा कारबाही प्रक्रिया अघि बढाएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖