काठमाण्डौ – बाग्मती र मधेश प्रदेशको धेरैजसो भूभागबाट पनि यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भाग तथा बाग्मती र मधेश प्रदेशका धेरैजसो भू–भागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सि सोमवारदेखि बुधवारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को अनुमान् छ ।
पर्सि सोमवारदेखि नै पानी पर्ने सम्भावना रहेकोले तत्काल धान नकाट्न र काटेको भएमा भोलिसम्ममा भित्र्याइसक्न मौसमविद्ले सुझाव दिएका छन् । आउँदो बिहीवारदेखि मौसम सफा हुने भएकोले यस वर्षको दशैँ घमाइलो हुने मौसमविद्ले बताएका छन् ।
