काठमाडौं । इरानले इजरायलमाथि चरणबद्ध रूपमा मिसाइल आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूसँग फलदायी कुराकानी भएको दाबी गर्दै इरानको ऊर्जा प्रणालीमा बमबारी गर्ने आफ्नो धम्की पाँच दिनका लागि स्थगित गरेलगत्तै यो आक्रमण भएको हो ।
मिसाइल आक्रमणका कारण इजरायलका विभिन्न भागमा ‘एयर रेड’ साइरन बजेका थिए । यसअन्तर्गत, तेलअभिभ पनि परेको थियो । इरानले हानेका मिसाइल आकाशमै विफल पारिँदा विस्फोटको आवाज सुनिएको थियो ।
आक्रमणमा उत्तरी इजरायलमा मिसाइलका अवशेषहरू खस्दा केही घरमा क्षति पुगे पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।
ट्रम्पले सोमबार आफ्नो सामाजिक सञ्जालमा अमेरिका र इरानबीच जारी युद्धको पूर्ण तथा समग्र समाधानका लागि अत्यन्तै राम्रो र फलदायी कुराकानी भएको घोषणा गरेका थिए ।
तर, मंगलबार उनको यो दाबीमाथि प्रश्न उठेको छ । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफलाई एक इजरायली अधिकारी र अन्य दुई स्रोतले इरानी पक्षबाट वार्ता गर्ने व्यक्तिका रूपमा चिनाएकामा उनले कुनै पनि वार्ता नभएको बताएका छन् ।
उनले ‘एक्स’मा लेख्दै भनेका छन्, “अमेरिकासँग कुनै पनि वार्ता भएको छैन । वित्तीय तथा तेल बजारलाई हेरफेर गर्न तथा अमेरिका र इजरायल फसेको दलदलबाट उम्कनका लागि ‘फेक न्युज’को प्रयोग गरिएको छ ।”
इरानको रिभोलुसनरी गाड्र्सले अमेरिकी निसानामाथि नयाँ आक्रमण सुरु गरिरहेको जनाएको छ । उसले ट्रम्पको भनाइलाई मनोवैज्ञानिक अभियानको संज्ञा दिँदै ती पुराना भइसकेका र इरानको लडाइँमा कुनै प्रभाव नपर्ने दाबी गरेको छ ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि एक भिडियो सन्देशमा सोमबार ट्रम्पसँग कुरा भएको र इजरायलले लेबनान तथा इरानमा आक्रमण जारी राख्ने बताएका छन् ।
तर, नेतन्याहुले ट्रम्पले इजरायली सेना र अमेरिकी सेनाले हासिल गरेका उपलब्धिहरूलाई एक सम्झौतामार्फत उपयोग गर्न सकिने विश्वास व्यक्त गरेका छन् । यद्यपि, ट्रम्पले दाबी गरेजस्तो वार्ता भएको पुष्टि हुन सकेको छैन ।
