• Tuesday 6th of October 2026

यातायात कार्यालयमा बिचौलियाको रजगज, यी हुन् पक्राउ परेका १६ जना


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँका विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने र सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई हैरानी दिइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुक समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्वयम्भू प्रहरीले सानोभर्‍याङस्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा रौतहटका बल बहादुर सुनार, रामेछापका विज्ञान राई र रमेश कार्की, काठमाडौँका संजय राजवाहक र विमल तामाङ, कैलालीका सुमन प्रसाद श्रेष्ठ, नुवाकोटका उद्धव खनाल र धादिङकी कल्पना लम्साल रहेका छन्।

त्यसैगरी, थानकोट प्रहरीले गुर्जुधारास्थित यातायात कार्यालयबाट अन्य ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँका पासाङ तामाङ र सुदिप मगर, काभ्रेका सुनिल लामा, धादिङका बुद्ध तामाङ र अमन तामाङ, मकवानपुरका सुमेश नेपाली, बझाङका उज्वल सिंह र मोरङका दिलिप राई रहेका छन्।

यातायात कार्यालयहरूमा विचौलियाका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖