• Monday 5th of October 2026

धोनीको त्यो एउटा फोन कल र युवराजको सन्न्यास


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । सन् २०११ को विश्वकपमा भारतलाई च्याम्पियन बनाउन नायकको भूमिका निर्वाह गरेका युवराज सिंहले आफ्नो सन्न्यास र क्रिकेट व्यवस्थापनबारे नयाँ खुलासा गरेका छन्। एक अन्तर्वार्ताका क्रममा उनले आफूलाई टोलीबाट बाहिर निकाल्न कस्तो किसिमको रणनीति अपनाइएको थियो र अन्त्यमा महेन्द्र सिंह धोनीले कसरी यथार्थ ऐना देखाइदिए भन्नेबारे विस्तारमा बताएका हुन्।

युवराजका अनुसार करियरको अन्तिमतिर उनलाई न त कप्तान विराट कोहली, न प्रशिक्षक रवि शास्त्री, न त नेशनल क्रिकेट एकेडेमी (एनसीए) ले नै स्पष्ट जानकारी दिएका थिए। युवराजले ३६-३७ वर्षको उमेरमा आफू टोलीमा आउने र जाने क्रम चलिरहँदा निकै अन्योलमा परेको महसुस गरेका थिए।

उनले देशका लागि लामो समय खेलेको हुनाले व्यवस्थापनबाट थोरै सम्मान र स्पष्ट कुराको अपेक्षा गरे पनि कसैले उनीसँग सिधा संवाद नगरेको गुनासो गरे। यस्तो अवस्थामा कतैबाट जवाफ नपाएपछि उनले आफ्ना पुराना कप्तान तथा साथी धोनीलाई फोन गरेका थिए।

धोनीले युवराजलाई छनोटकर्ताहरू अब नयाँ खेलाडीतर्फ केन्द्रित भएको र उनी आगामी योजनाको हिस्सा नरहेको सत्य कुरा बताइदिए। धोनीको यही स्पष्टताका कारण युवराजले १० जुन २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटका सबै प्रारूपबाट सन्न्यास लिने निर्णय गरे।

उनले व्यवस्थापनमाथि गम्भीर आरोप लगाउँदै आफूलाई सन्न्यास लिन दबाब दिइएको समेत दाबी गरे। फिटनेस परीक्षण अर्थात् यो-यो टेस्ट पास गर्न नसक्ने बहाना बनाएर उनलाई खेलबाट अलग गर्न खोजिएको थियो। यद्यपि, युवराजले आफूलाई टोलीमा राख्ने वा नराख्ने निर्णय व्यवस्थापनको भए पनि सन्न्यास लिने निर्णय भने नितान्त आफ्नै हुने भन्दै दह्रो जवाफ दिएका थिए।

यति मात्र होइन, आफूमाथि केही व्यक्तिहरूले व्यक्तिगत टिप्पणी गरेका कारण नै उनले सन्न्यासपछि पनि कमेन्ट्री क्षेत्रबाट दूरी बनाएको खुलाए। उनले खेलको आलोचना स्वीकार्य भए पनि व्यक्तिगत प्रहार गर्नेहरूसँग सँगै बसेर काम गर्न नसक्ने स्पष्ट पारे।

सन् २००० मा करियर सुरु गरेका युवराजले १९ वर्षको गौरवमय यात्रामा ३०४ एकदिवसीय, ५८ टी-२० र ४० टेस्ट खेलेर ११ हजारभन्दा बढी रन बनाए। सन् २००७ को टी-२० विश्वकपमा इङ्गल्याण्ड विरुद्ध एकै ओभरमा ६ छक्का र १२ बलमै अर्धशतक प्रहार गर्ने उनको कीर्तिमान अझै पनि भारतीय क्रिकेटको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ।

सन् २०११ को विश्वकपमा ३६२ रन र १५ विकेट लिएर ‘प्लेयर अफ द टूर्नामेन्ट’ बनेका उनले क्यान्सर जस्तो घातक रोगलाई जितेर पुनः मैदान फर्किए पनि पहिलेको जस्तो लय समात्न भने कठिन भएको थियो। विश्वकप २०११ पछि उनले केवल एक मात्र शतक प्रहार गर्न सकेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖