काठमाडौ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको मुद्दा दायर भएको छ। अमेरिकामा अध्ययनरत छात्रा संगम बिष्टले आफूमाथि जबरजस्ती करणी गरिएको आरोप लगाउँदै न्यूयोर्क सिटी प्रहरी विभागमा (एनवाइपीडी) एफआइआर दर्ता गरेकी छन्।
पारिवारिक स्रोतका अनुसार एफआइआर दुई दिनअघि दर्ता भएको र अनुसन्धान सुरु भइसकेको छ। अमेरिकी प्रहरीले यस मामलामा नेपालको प्रहरीसँग समन्वय गर्ने अपेक्षा गरिएको छ।
संगमले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै बलेसँग एक वर्षअघि अमेरिका पुगेको बेलामा भेट भएको र उनलाई फ्ल्याटमा देखाउन लगाएको बताएकी थिइन्। उनले त्यहीँ जबरजस्ती करणी भएको बताइन्।
संगमको स्टाटस सार्वजनिक भएलगत्तै नेपाल प्रहरीले बलेलाई पक्राउ गरी हिरासतमा राखेको थियो। तर, नेपालमा बलात्कारको जाहेरी दर्ता भएको छैन। जिल्ला प्रशासन कार्यलयले अभद्र व्यवहारको कसुरमा बलेलाई ५ दिन हिरासत थपेको थियो। कानूनी प्रावधान अनुसार अभद्र व्यवहारमा बढीमा २५ दिन हिरासत राख्न सकिन्छ।
संगमको परिवार हाल वकिलहरूसँग कानूनी प्रक्रिया बारे परामर्श गरिरहेका छन्। नेपालमा पनि जाहेरी दिने वा नदिने भन्ने विषयमा निर्णय नआएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
