राजस्थान । सरकारी जागिर पाएपछि प्रायः मानिसहरू थप पढाइ छोड्छन् । सेनामा भर्ती हुनु त झन् कठिन हुन्छन्, तर भारत राजस्थानको झुन्झुनु जिल्लाका पूर्वफौजी दशरथ सिंहको कथा भने फरक छ ।
सेनामा रहँदा उनले आफ्नो पढाइलाई निरन्तरता मात्र दिएनन्, तीन वटा पीएचडी र १३८ वटा डिग्री, डिप्लोमा र प्रमाणपत्रहरू हासिल गरेर शिक्षा क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गरेका छन् । उनको सफलताको कथाले लाखौं युवालाई शिक्षाप्रति प्रेरित गरिरहेको छ ।
राजस्थानको एक साधारण परिवारबाट आएका दशरथ सिंह शेखावतको नाम आज इन्टरनेसनल बुक अफ रेकर्डमा दर्ता छ । विभिन्न विषयहरूमा १३८ वटा डिग्री, डिप्लोमा, प्रमाणपत्र र तीनवटा पीएचडी गरेपछि डा. दशरथ सिंह शेखावत संसारकै सबैभन्दा धेरै पढेलेखेका व्यक्ति बनेका छन् ।
इन्टरनेसनल बुक अफ रेकर्डद्वारा २०१९ अक्टोबर १७ मा उनलाई ‘मोस्ट एजुकेसनल्ली क्वालिफाइड पर्सन’ (सर्वाधिक शैक्षिक योग्यता भएका व्यक्ति) को रूपमा सम्मानित गरिएको थियो । पूर्वसैनिक डा. दशरथ सिंहसँग १३८ वटा डिग्री, डिप्लोमा र प्रमाणपत्रका साथै तीन वटा पीएचडी डिग्रीहरू छन् । यसमा विभिन्न विषयहरूमा ७ वटा स्नातक डिग्री, ४६ वटा स्नातकोत्तर डिग्री, २३ वटा डिप्लोमा, ५२ वटा सर्टिफिकेट कोर्स, सात वटा मिलिट्री स्टडीजका डिग्रीहरू र तीनवटा भिन्न–भिन्न विषयहरूमा पीएचडी समावेश छन् ।
हालै ५५ वर्षीय पूर्वसैनिक डा. दशरथलाई इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयको दीक्षान्त समारोहमा वैदिक अध्ययनमा स्नातकोत्तर डिग्रीबाट सम्मानित गरिएको छ । राजस्थानको झुन्झुनु जिल्लाको नवलगढ तहसीलको खिरोड गाउँका दशरथ एक साधारण परिवारबाट आएका हुन् । उनलाई बाल्यकालदेखि नै पढ्ने सोख थियो । प्रारम्भिक शिक्षा गाउँकै सरकारी विद्यालयबाट प्राप्त गरे । कुनै न कुनै तरिकाले दशौं कक्षा त पास गरे, तर कलेजमा टप गरेपछि पनि थप पढाइलाई निरन्तरता दिन सकेनन् । किनकि परिवार ठूलो थियो र आर्थिक अवस्था राम्रो थिएन । थप पढाइलाई निरन्तरता दिन पैसा थिएन ।
सन् १९८८ मा सेनामा भर्ती भएपछि दशरथ सिंहलाई अगाडिको पढाइ पूरा गर्न नसकेको कुराले सताइरहन्थ्यो । त्यसैले उनले सेनामा आफ्नो ड्युटीका साथसाथै पढ्ने निर्णय गरे । एक अन्तर्वार्तामा पूर्व सैनिक डा. दशरथ सिंहले भनेका थिए, ‘म १६ वर्षको सैन्य सेवामा सहरमा बसिनँ । बन्दुक चलाउने व्यक्ति भएर सीधै सीमामै रहेँ । १६ वर्षसम्म मेरो सबै सरसामान मेरो ढाडमै रह्यो । मलाई कहिल्यै राति बत्तीमुनि कोठामा बसेर पढ्ने ठाउँ मिलेन । मैले समय हेरेँ, दिउँसो छ र अहिले मेरो ड्युटी छैन । मसँग दुई घण्टा छ र एक घण्टा पढ्न सक्छु । यसरी मैले समयलाई व्यवस्थापन गरेर र मिलाएर पढाइ गरेँ ।’
एक पोडकास्ट अन्तर्वार्तामा डा. दशरथलाई १३८ वटा डिग्री, डिप्लोमा, प्रमाणपत्र र तीनवटा पीएचडी हासिल गर्नुको पछाडि के कारण थियो भनेर सोधिएको थियो । तब उनले यसको मूल कारण केवल सिक्नु र विभिन्न क्षेत्रमा ज्ञान आर्जन गर्नु भएको बताए । उनले बीए आट्र्समा पहिलो डिग्री हासिल गरे र डिग्रीहरू लिने क्रम सुरु गरे ।
सेनाबाट अवकाश पाएपछि पढाइप्रतिको लगाव झनै बढ्यो
सन् २००४ मा सेनाबाट अवकाश पाएपछि पढाइप्रतिको उनको लगाव अझ प्रबल हुँदै गयो । आफ्नो तेस्रो पीएचडी डिग्रीबारे बताउँदै डा. दशरथले भनेका थिए, ‘तेस्रो पीएचडी डिग्री महिला सशक्तीकरणसँग सम्बन्धित छ, जसलाई शिक्षासँग जोडेर हेरिएको छ । पुरुषप्रधान समाजमा महिलाहरूको स्थिति के छ, महिलाहरू घुम्टोमा बस्छन् र महिलाहरूमा शिक्षाको स्तर आज पनि कम छ, मानिसहरू आज पनि छोरीहरूलाई पढाउन चाहँदैनन् ।’
पूर्वसैनिक डा. दशरथ सेनामा ड्युटीको समयमा होली वा दिपावलीको सट्टा अप्रिल–मे महिनामा बिदा लिन्थे, किनकि त्यही बेला अधिकांश परीक्षाहरू हुन्थे । उनको कथा पढाइप्रतिको झुकावको एउटा जीवन्त उदाहरण हो ।
नवभारत टाइम्सबाट
