• Thursday 8th of October 2026

विपीन जोशीको अवस्था पत्ता लगाइदिन मन्त्री साउदको अन्तर्राष्ट्रिय समुदायसँग आग्रह


  • धनकुटा खबर
  • .

२८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा जारी युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगहरुलाई आग्रह गरेका छन् ।

आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले वेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन् ।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपीन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए ।

‘विपीनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटकपटक आक्रमण गरेको देखिन्छ । पहिले गोली चलाएको र त्यसपछि ग्रिनेड फालेको देखिन्छ’, परराष्ट्रमन्त्री साउदले भने, ‘प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुईवटा ग्रिनेड फाल्दा एउटा नपड्किदै विपीनजीले एउटा ग्रिनेट बाहिर फ्याँकेको देखिन्छ ।’

प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपीनलाई पनि अपहरण गरेको लगेको जानकारी आएको उनले बताए । ‘त्यसदेखि नै उहाँ अज्ञात अवस्थामा हुनुहुन्छ, उहाँको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन’, परराष्ट्रमन्त्री साउदले भने ।

‘उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौं । इजरायल सरकारले पनि उहाँको स्थिति के हो भन्ने विषयमा पत्ता लगाउने प्रतिबद्धता जनाएको छ’, परराष्ट्रमन्त्री साउदले भने,‘तपाईं (अन्तर्राष्ट्रिय सञ्चारमाध्यम) हरूमार्फत अन्तर्राष्ट्रिय संघसंस्था, विभिन्न कूटनीतिक मिसनहरूसँग पनि उहाँको स्थिति पत्ता लगाइदिनका लागि अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖