• Tuesday 6th of October 2026

सर्पले टोकेपछि निको पार्न गङ्गा नदीमा डुबाएर राख्दा १३ वर्षीय बालकको मृत्यु


  • धनकुटा खबर
  • .

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशस्थित पीतमपुर गाउँका १३ वर्षीय बालक अमितको एउटा दुखद र अकल्पनीय घटनाले यतिबेला पूरै देशलाई स्तब्ध बनाएको छ। सर्पले टोकेपछि अस्पताल लैजानुको साटो परिवारले धामीझाँक्रीको लहै-लहैमा लागेर अन्धविश्वासको बाटो रोज्दा ती निर्दोष बालकले ज्यान गुमाउनु परेको हो।

कक्षा ४ मा पढ्ने अमितलाई गत बिहीबार विषालु सर्पले टोकेको थियो। घटनाबारे उनले तत्कालै परिवारलाई जानकारी गराएका थिए, तर परिवारले उनलाई आधुनिक उपचारका लागि अस्पताल पुर्‍याउनुको सट्टा तन्त्र-मन्त्र र दैवीय शक्ति माथि भरोसा गरेर ठूलो गल्ती गर्‍यो।

एक धामीको निर्देशनमा लागेर परिवारले अमितलाई बाँसको घोचोमा बाँधेर १२ घण्टासम्म गङ्गा नदीको पवित्र पानीमा डुबाएर राखेको थियो। ती धामीले गङ्गाको पानीले विष सोस्ने र बालक निको हुने भ्रमपूर्ण आश्वासन दिएका थिए।

जब बालक लामो समयसम्म पानीमा डुब्दा बेहोस भए, तब मात्र परिवारको चेत खुल्यो र उनीहरूले नजिकैको स्वास्थ्य केन्द्रमा पुर्‍याए। तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो। चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।

हैरान बनाउने कुरा त के छ भने, डाक्टरले मृत घोषणा गरिसक्दा पनि परिवारको अन्धविश्वास हटेको थिएन। उनीहरूले फेरि पनि कुनै चमत्कार हुने आशामा बालकको शवलाई गङ्गा नदीमै सेलाउने प्रयास गरेका थिए।

स्थानीय स्वास्थ्य केन्द्रका डाक्टर शशांक चौधरीका अनुसार अस्पतालले पटक-पटक जनचेतनामूलक अभियान चलाउँदै सर्पले टोकेको अवस्थामा एक-एक मिनेट महत्त्वपूर्ण हुने र सिधै अस्पताल आउन आग्रह गर्दै आएको भए पनि यस्ता घटना दोहोरिरहनु दुखद पक्ष हो।

अमितको यो अकाल मृत्युले अहिले सामाजिक सञ्जालमा ठूलो बहस र आक्रोश निम्त्याएको छ। कतिपयले आफ्नै सन्तानको ज्यान लिने यस्तो लापरबाहीका लागि अभिभावक र ती कथित धामीलाई कडा कारबाही हुनुपर्ने माग गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖