काठमाडौँ । पछिल्लो समय केराको मूल्य अस्वाभाविक वृद्धि भएको छ । जसका कारण सर्वसाधारणदेखि सांसदसम्मले केराको मूल्यलाई लिएर कटाक्ष गर्न थालेका छन् ।
यसैबिच सत्तापक्षकै एक सांसदले केराको मूल्यलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न उठाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की निर्वाचित सांसद आशिका तामाङले आइतबार फेसबुकमा कटाक्ष गर्दै लेखिन्,‘ केरा नै केरा फल्ने देशमा एक दर्जनको रु. ३५०’ ।
सस्तो, सुलभ र स्वास्थ्यवर्द्धक मानिने यो फल अहिले उपत्यकाका खुद्रा पसलहरूमा ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ । केही महिना अघिसम्म प्रतिदर्जन १२० देखि १५० रुपैयाँमा पाइने केराको मूल्य ह्वात्तै बढेको हो ।
सरकारले केरामा देखिएको अस्वाभाविक वृद्धि नियन्त्रण गर्नुपर्ने सर्वसाधारणको माग छ ।
व्यापारीहरूका अनुसार भारतीय केराको आयात रोकिँदा माग र आपूर्तिबिच ठुलो खाडल बनेको छ । यही खाडलमा बिचौलियाहरूले खेलिरहेका छन्।
नेपाल सरकारले असोज २ गतेदेखि भारतबाट केरा आयातमा कडाइ गरेको छ।
