काठमाडौ । तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारी हराएको ११ दिनपछि मृत अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा विवाहेत्तर सम्बन्धकै कारण उनको हत्या भएको निष्कर्ष निकालेको छ।
प्रहरीका अनुसार टोखा नगरपालिका–२ का अनिल डङ्गोलसँग सरिताको करिब एक वर्षदेखि घनिष्ठ सम्बन्ध रहेको खुलेको छ। काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार डङ्गोलले पनि सरितासँगको सम्बन्ध स्वीकार गरेका छन्।
सरिता वैशाख ११ गते दिउँसो “बजार जान्छु” भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि सम्पर्कविहीन भएपछि परिवारले वैशाख १२ गते खोजतलासका लागि प्रहरीमा जाहेरी दिएको थियो। लामो खोजीपछि मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो। प्रहरीले उत्खनन गरेर शव बाहिर निकालेको थियो।
पारिवारिक स्रोतका अनुसार मृतकका पति शंकर तिवारी र अनिल डङ्गोल घनिष्ठ साथी थिए। साथीका रूपमा घरमा आवतजावत हुने क्रममा डङ्गोलको सरितासँग चिनजान बढेको बताइएको छ। शंकर तिवारी विभिन्न टेलीसिरियलमा अभिनय गर्ने तथा अन्य समयमा कृषिकार्यमा व्यस्त रहने गर्थे। यही अवधिमा सरिता र डङ्गोलबीच सम्बन्ध नजिकिएको परिवारको भनाइ छ।
परिवारका एक सदस्यका अनुसार शंकरले आफ्नी पत्नी र डङ्गोलबीचको सम्बन्धबारे गत माघ–फागुनतिर मात्रै जानकारी पाएका थिए। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सरिता निर्वाचन प्रहरीमा भर्ना भएकी थिइन्। त्यसक्रममा उनी लामो समय घर नफर्किने र खोजी गर्दा डङ्गोलसँगै भेटिने भएपछि परिवारमा शंका बढेको थियो।
प्रहरी अनुसन्धानमा सरिताले आफ्नो सम्बन्धबारे समाज र परिवारमा चर्चा चल्न थालेपछि डङ्गोललाई “मलाई जिम्मा लिनुपर्छ” भन्दै दबाब दिँदै आएको खुलेको छ। यही तनावपछि घटना भएको आशंका प्रहरीले गरेको छ।
प्रहरी स्रोतका अनुसार डङ्गोल पक्राउ पर्नुमा टोखा नगरपालिका–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले दिएको सूचनाले महत्वपूर्ण भूमिका खेलेको थियो। पक्राउपछि डङ्गोलले हत्या गरी शव गाडिएको स्थान प्रहरीलाई देखाएका थिए।
अनुसन्धानका क्रममा डङ्गोल र शंकरबीच ७–८ वर्षदेखिको मित्रता रहेको समेत खुलेको छ। उनीहरूबीच आर्थिक लेनदेनदेखि खानपिनसम्मको घनिष्ठ सम्बन्ध रहेको प्रहरीको भनाइ छ। तर, आफ्नै पत्नी र साथीबीच प्रेम सम्बन्ध रहेको कुरा शंकरले ढिलो थाहा पाएका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
