• Wednesday 7th of October 2026

पर्सा निकुञ्जको खोरमा बघिनीको मृत्यु


  • धनकुटा खबर
  • .

बारा । ठोरी गाउँपालिका वडा नं ५, सुवर्णपुरबाट ‘डार्ट’ गरी पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको नरभक्षी बघिनीको मृत्यु भएको छ । पर्सा निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये एउटा बघिनीको मृत्यु भएको हो । सो बघिनीले गत भदौ १३ गते सुवर्णपुरमा दिउँसो ४ बजे कान्छालाल दोङको ज्यान लिएको थियो ।

मानिसको ज्यान लिएपछि उक्त बघिनीलाई नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको थियो । स्थलगत रिपोर्टिङमा पुग्दा खोरमा राखिएको सो बघिनी अत्यन्तै दुब्लो, कमजोर र घाइते अवस्थामा थियो भने शरीरका विभिन्न ठाउँमा घाउ देखिएको थियो । दुई वटा बाघ राख्ने क्षमता भएको खोरमा ३ वटा बाघ राख्नुपर्दा पनि निकुञ्जको खोर अत्यन्तै दुर्गन्धित थियो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार बिहीबार बिहान खोरको निरीक्षण गर्न पुगेका निकुञ्जकर्मीले उक्त बघिनीलाई मृत फेला पारेका थिए ।

‘निकुञ्जमा ल्याउँदै गर्दा उक्त बघिनी घाइते र कमजोर थियो । सामान्यतया शारीरिक रूपमा कमजोर भएर जंगलमा सिकार गर्न नसक्ने भएपछि आहाराका लागि जंगल बाहिर नजिकको मानव बस्तीमा प्रवेश गरेको बघिनीले एक जनाको ज्यान लिएको हो,’ सहायक संरक्षण अधिकृत भगतले भने ।

सो बघिनीको उमेर करिब ८ वर्षको रहेको भगतले बताए । ‘केही दिन यता उसले आहारा पनि कम खाइरहेको थियो, कमजोर र शिथिल पनि भइसकेको थियो,’ उनले भने, ‘सामान्यतया बाघ बिरामी भएपछि उसले आहारा कम खाने वा पूर्ण रूपमा खान बन्द गर्छ, हामीले उसको उपचारको प्रयास पनि गरेका थियौँ, तर सम्भव भएन ।’

मृत्युपछि निकुञ्जकै पशु चिकित्सकले पोष्टमार्टम गरी निकुञ्ज कार्यालय परिसरमा उक्त बघिनीलाई गाडिएको छ ।

निकुञ्ज कार्यालयको खोरमा अझै दुई वटा बाघ छन् । २०७९ चैत २२ गते ठोरी गाउँपालिका–५ मा १२ वटा बाख्रा, २ वडा पाडो खाने बाघ र चितवनको मेघौली मध्यवर्ती क्षेत्रबाट असार २३ गते उद्धार गरी ल्याइएको अर्को बाघ हाल पर्सा निकुञ्जको खोरमा छ ।

पर्सा निकुञ्जसँगै हाल देशभर पशु चौपाया र मानिसको ज्यान लिने १२ वटा बाघ राष्ट्रिय निकुञ्जको खोरमा छन् । चितवन राष्ट्रिय निकुञ्जको खोरमा ५, बर्दियामा ४, बाँकेमा १ र पर्सा राष्ट्रिय निकुञ्जको खोरमा २ गरेर १२ वटा बाघ देशभरका खोरमा छन् ।

खोरमा राखिएको बाघलाई निकुञ्जले दैनिक ५ केजीको दरले भैँसीको मासु खुवाउने गर्दछ ।

हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको हो । १२ वर्ष अघिसम्म यो निकुञ्जमा ३ वटामात्र बाघ थिए । गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो ।

पछिल्लो एक दशक यता नेपालमा बाघको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि भइरहेको छ । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖