• Sunday 4th of October 2026

कण्डम प्रयोगकर्ता बढे, घटेनन् एचआईभी संक्रमित


  • धनकुटा खबर
  • .

रौतहट । कण्डम प्रयोगकर्ता बढे पनि रौतहटमा एचआइभी एड्स संक्रमितको संख्या घटेन । जिल्ला जनस्वास्थ्य कार्यालय, रौतहटका अनुसार जिल्लामा ५ सय ४० जनामा एचआईभी संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राजेश सिंहका अनुसार संक्रमितमध्ये ४२५ जना नियमित रूपमा एन्टिरेट्रोभाइरल (एआरटी) औषधी सेवन गरिरहेका छन् । बाँकी १ सय १५ जना जिल्लाबाहिर बसोबास गर्ने वा नियमित उपचार सम्पर्कमा रहेका छैनन् ।

सबैभन्दा बढी जिल्लाको राजपुर नगरपालिकामा ६७ जना संक्रमित छन् । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएकाभन्दा जिल्लामै कार्यरत सवारी चालक, प्रहरी तथा मजदुरमा संक्रमण बढी देखिन थालेको प्रमुख सिंहले बताए ।

एचआईभी संक्रमण रोकथामका लागि सुरक्षित यौन व्यवहार तथा कण्डमको सही प्रयोग आवश्यक रहेको उनको भनाइ छ । जिल्लामा गर्भनिरोधक तथा यौनरोगबाट बच्न निम्ति अस्थायी साधन कण्डमको प्रयोग गर्नेको संख्या बढेको छ । तर, सही प्रयोग नभएको र त्यसबारे पर्याप्त जनचेतना अभाव रहेको सिंहले बताए ।

प्रादेशिक गौर अस्पतालका डाक्टर शशी गुप्ताले एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई तथा सिरिञ्जको प्रयोग र संक्रमित आमाबाट शिशुमा सर्न सक्ने बताए । उनका अनुसार नियमित परीक्षण, समयमै उपचार, सुरक्षित यौन व्यवहार तथा कण्डमको प्रयोगबाट संक्रमण नियन्त्रण गर्न सकिन्छ ।

डा. गुप्ताले एचआईभी संक्रमित व्यक्तिले नियमितरूपमा एआरटी औषधी सेवन गरे सामान्य जीवनयापन गर्न सक्ने बताउँदै रोग लुकाएर बस्नुभन्दा स्वास्थ्य संस्थामा सम्पर्क गरी उपचार लिन आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖