काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफ्नो राजनीतिक विगतबारे स्मरण गराएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले २०६४ सालको चुनावको अनुभव उल्लेख गर्दै हालको राजनीतिक परिस्थिति र जनमत स्थिर नहुने बताएका हुन्।
उनले आफूहरूले पनि त्यतिबेला ठूलो जनमत प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेको स्वीकार गरे। “२०६४ सालमा तपाईंहरूजस्तै ठूलो जनमत ल्याएर पनि हामीले त्यसलाई टिकाउन सकेनौँ,” उनले भने, “जितभन्दा हारलाई स्वीकार गर्न गाह्रो हुन्छ।”
प्रचण्डले जनमत अस्थायी हुने भएकाले त्यसमा अत्यधिक आत्मविश्वास नगर्न आग्रह गर्दै संख्या स्थायी नहुने बताए। “संख्या स्थायी हुँदैन, जनताको समर्थन शर्तसहित हुन्छ,” उनले भने।
उनले निषेध, अपमान र प्रतिशोधको राजनीतिभन्दा सहकार्य र विश्वासको राजनीति आवश्यक रहेकोमा जोड दिएका छन्।
