• Wednesday 7th of October 2026

३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन


  • धनकुटा खबर
  • .

काठमाडौँ । मलेसियामा सेक्युरिटी गार्डको काम गर्न जान लागेका सप्तरीका अजय कुमार यादव अन्ततः ठगीको सिकार हुनबाट जोगिएका छन् । ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार अधिकतम १० हजार रुपैयाँ मात्रै खर्च लाग्नुपर्ने अवस्थामा म्यानपावर कम्पनीले उनीसँग ३ लाख रुपैयाँ मागेपछि उनको विदेश जाने सपना संकटमा परेको थियो ।

कोटेश्वरस्थित ग्रान्ड स्विट जब नामक म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ नदिए विदेश पठाउन नसकिने बताएपछि यादवले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए । रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको भए पनि रकम अभावमा उनी निर्धारित मितिमा मलेसिया जान सकेनन् ।

म्यानपावर कम्पनीले पैसा लिएपछि मात्रै राहदानी, श्रम स्वीकृति र हवाई टिकट दिने बताएपछि यादव शनिबार बिहान रकमको जोहो गरेर काठमाडौं आएका थिए । कम्पनीका एक कर्मचारीले उनलाई तीनकुनेस्थित गैरीगाउँमा रहेको पेट्रोलपम्प नजिक पैसा लिएर आउन फोनमार्फत बोलाएका थिए ।

यसबीच यादवले आफूले भोगेको समस्याबारे युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई जानकारी गराएका थिए । त्यसपछि मन्त्रीका स्वकीय उपसचिव सरोज यादव प्रहरी र सञ्चारकर्मीसहित घटनास्थल पुगेका थिए ।

अजय र म्यानपावरका कर्मचारीबीच कागजात र रकमको विषयमा भनाभन भइरहेका बेला प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्तिले आफू ग्रान्ड स्विट जबको भिसा शाखामा कार्यरत रहेको बताएका थिए ।

प्रहरीले सोधपुछ गर्दा ‘फ्रि भिसा, फ्रि टिकट’ अन्तर्गत जान लागेका कामदारसँग ३ लाख रुपैयाँ मागिएको स्वीकारेपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ ।

पक्राउ परेका व्यक्तिको साथबाट चारवटा राहदानी, फ्लाइट टिकट र अन्य महत्वपूर्ण कागजात बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूले विभिन्न कामदारसँग रकम असुल्ने उद्देश्यले कागजात रोकेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

श्रममन्त्री यादवका स्वकीय उपसचिव सरोज यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न आफूहरू सक्रिय रहेको बताए । उनले भने, “आज एक जना सोझो नेपाली ठगिनबाट जोगिएका छन् । यस्तो कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीसँग सहकार्य भइरहेको छ ।”

पीडित अजय यादवले म्यानपावर कम्पनीले सुरुमा कुनै अतिरिक्त शुल्क नलाग्ने बताए पनि भिसा आएपछि अचानक ३ लाख रुपैयाँ माग्दै दबाब दिएको गुनासो गरे । उनले भने, “गरिब परिवारबाट आएको मान्छेले ऋण खोजेर पैसा जुटाउनुपर्ने अवस्था आयो । यस्तो लुटधन्दा गर्नेहरूलाई कडा कारबाही हुनुपर्छ ।”

प्रहरीको पहलमा यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट फिर्ता गरिएपछि उनी आइतबार मलेसिया उड्ने तयारीमा रहेका छन् । घटनामा संलग्न व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖