• Monday 5th of October 2026

कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट–२०२६ अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

सिंगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले विस्फोटक सुरुआत दिलाएका थिए। दुवैले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै पावरप्लेमा मात्र ९५ रन जोडे, जुन नेपालको टी–२० अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक पावरप्ले स्कोर हो।

आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक इनिङ्स खेले। उनले ५ चौका र ७ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५४ बलमा १२६ रन बनाए। उनले १४ चौका र ८ छक्का प्रहार गर्दै टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक पूरा गरे।

यो इनिङ्ससँगै भुर्तेल नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन्। उनले दीपेन्द्र सिंह ऐरीको नाममा रहेको कीर्तिमान उछिन्दै नयाँ रेकर्ड कायम गरेका हुन्।

मध्यक्रममा कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रनको विस्फोटक योगदान दिए। उनले १ चौका र ४ छक्का प्रहार गरे। सन्दीप जोराले १४ बलमा १५ रन, लोकेश बमले १० रन, कुशल मल्लले ९ रन तथा करण केसीले ७ रन जोडे। रोहित पौडेल भने पहिलो बलमै आउट भए।

मलेसियाका लागि वीरनदीप सिंहले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। विजय उन्नी र सयेद अजिजले समान २–२ विकेट हात पारे।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖