काठमाडौँ । फिफा विश्वकप २०२६ को आयोजक संयुक्त राज्य अमेरिकाले प्रतियोगितामा धमाकेदार सुरुवात गरेको छ। लस एन्जलसमा भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै ३ अंक जोडेको हाे।
समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अमेरिकाले पहिलो हाफमै ३ गोल गर्न सफल भएको थियो । खेलको ७औँ मिनेटमा पाराग्वेका डिफेन्डर डी बोबाडिल्लाको आत्मघाती गोलबाट सुरुवाती अग्रता प्राप्त गरेको थियो । त्यसपछि फरवार्ड फोलारिन बालोगुनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको अग्रतालाई दोब्बर र तेब्बर बनाए ।
बालोगुनले खेलको ३१औँ मिनेटमा व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गरे । त्यस्तै, पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा पुनः गोल गर्दै उनले अमेरिकालाई पहिलो हाफमै ३–० को बलियो स्थितिमा पुर्याएका थिए ।
दोस्रो हाफको अतिरिक्त समयमा अमेरिकाका जियोभानी रेनाले एक गोल थपे । पाराग्वे मौरिसियोले ७३ मिनेटमा एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।
