• Sunday 4th of October 2026

मेसी बने विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले शनिबार डलासमा जोर्डनविरुद्ध गोल गर्दै फ्रान्सका जस्ट फन्टेन र ब्राजिलका जाइरजिन्होलाई पछि पारे ।

बेन्चबाट मैदान प्रवेश गरेका मेसीले खेलको ८०औँ मिनेटमा करिब २५ मिटर टाढाबाट आकर्षक फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई ३–१ को अग्रता दिलाए ।

मेसीको यो लगातार गोल गर्ने यात्रा कतारमा भएको सन् २०२२ को विश्वकपमा अस्ट्रेलियामाथि अर्जेन्टिनाले २–१ को जित निकालेको खेलबाट सुरु भएको थियो । त्यसपछि उनले नेदरल्यान्ड्स र क्रोएसियाविरुद्ध पनि गोल गरे । फ्रान्ससँगको रोमाञ्चक फाइनलमा उनले दुई गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका थिए ।

सन् २०२६ को विश्वकपमा पनि उनले आफ्नो उत्कृष्ट लय कायम राखेका छन् । उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गरे भने अर्जेन्टिनाको दोस्रो खेलमा अस्ट्रियाविरुद्ध थप दुई गोल गरेका थिए । जोर्डनविरुद्धको गोलसँगै उनको विश्वकपमा कुल गोल सङ्ख्या १९ पुगेको छ । यसरी मेसीले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमानलाई अझ विस्तार गरेका हुन् ।

फ्रान्सका जस्ट फन्टेनले सन् १९५८ को विश्वकपमा लगातार छ खेलमा गोल गरेका थिए भने ब्राजिलका जाइरजिन्होले सन् १९७० को विश्वकपमा लगातार छ खेलमा गोल गर्दै उक्त उपलब्धि दोहोर्‍याएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖