• Sunday 4th of October 2026

ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त


  • धनकुटा खबर
  • .

ह्युस्टन । पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तिम ३२ को खेलमा एसियाकै उत्कृष्ट मानिएको टोली जापानको सामना गर्दैछ। यस खेललाई ब्राजिलका प्रशिक्षक कार्लो एन्चेलोटीको पहिलो ठूलो परीक्षाको रूपमा हेरिएको छ।

उत्तर अमेरिकामा भइरहेको विश्वकपमा लामो यात्रा तय गर्ने लक्ष्य राखेको दक्षिण अमेरिकी टोली ब्राजिललाई सोमबार ह्युस्टनमा हुने खेलले गत वर्ष जापानसँग मैत्रीपूर्ण खेलमा व्यहोरेको हारको बदला लिने अवसर दिनेछ।

अनुमानहरू ब्राजिलको पक्षमा बढी देखिए पनि कठिन समूहबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेको जापानलाई कमजोर आँक्नु मूर्खता हुनेछ। जापानको व्यावसायिक फुटबलमा ब्राजिलको ठूलो प्रभाव रहेकाले यी दुई देशबिच आपसी सम्मान र मित्रता पनि छ।

ब्राजिल कसरी अन्तिम ३२ मा पुग्यो?
पाँच पटकको विश्व विजेता ब्राजिलले प्रतियोगिताको पहिलो खेलमा मोरोक्कोसँग १-१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा हाइटीलाई ३-० गोलले पराजित गरेको ब्राजिलले समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डमाथि ३-० गोलको जित निकाल्दै ‘समूह सी’ को शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेको हो।

तीन खेलमा ब्राजिलले गरेको सात गोलमध्ये रियल म्याड्रिडका स्टार फरवार्ड भिनिसियस जुनियर एक्लैले चार र म्याथियस कुन्हाले तीन गोल गरे। ब्रुनो गुइमारेसले सबैभन्दा धेरै (तीन) असिस्ट गरे।

तनावरहित अवस्थामा एन्चेलोटी
पहिलो खेलमा सामान्य प्रदर्शन गरेको ब्राजिलले त्यसपछि प्रतियोगितामा आफ्नो लय समात्दै गएको देखिन्छ। टोलीका स्टार खेलाडीहरूले पनि लय फेला पारेका छन् र उनीहरूको समग्र क्षमताको झलक देखिन थालेको छ।

जापानलाई हराउन सहज नहुने कुरा एन्चेलोटीलाई राम्ररी थाहा छ। उनले चार पटकको एसियाली च्याम्पियनलाई विश्वकै ‘उत्कृष्ट टोलीमध्ये एक’ भनेर तारिफ गरेका छन्।

आइतबारको प्रि-म्याच पत्रकार सम्मेलनमा इटालियन प्रशिक्षक तनावरहित देखिन्थे। नकआउट चरणको यस खेलमा ब्राजिललाई स्पष्ट दाबेदार मानिए पनि उनमा दबाबको कुनै संकेत थिएन।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘हामीलाई धेरै कुराको आवश्यकता छ: बलियो मानसिकता, बलियो हृदय र स्पष्ट सोच।’

उनले थपे, ‘नकआउट खेलमा जे पनि हुन सक्छ, त्यसैले सम्भावित सबै परिस्थितिको सामना गर्न हामी तयार रहनुपर्छ।’

ब्राजिललाई छैटौँ पटक विश्वकपको उपाधि जिताउने अभियानको नेतृत्व गरिरहेका एन्चेलोटीले भने, ‘टोली पूर्ण रूपमा तयार छ। खेलाडीहरू उत्साहित र आत्मविश्वासी छन्।’

जापान कसरी अन्तिम ३२ मा पुग्यो?’
जापानले नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेल्दै प्रतियोगिता सुरु गरेको थियो। दोस्रो खेलमा ट्युनिसियालाई ४-० ले हराएको जापानले पहिलो चरणको अन्तिम खेलमा स्विडेनसँग १-१ को बराबरी खेल्यो। पाँच अङ्क जोडेको जापान ‘समूह एफ’ को दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको हो।

जापानका लागि अहिलेसम्म अयासे उएदा र दाइची कामदाले समान दुई-दुई गोल गरेका छन्। यस्तै केइतो नाकामुरा, जुन्या इतो र दाइजेन माएदाले एक-एक गोल गरेका छन्।

‘डार्क हर्स’ जापान एकजुट छ: मोरियासु
प्रतियोगितामा ‘डार्क हर्स’ को रूपमा हेरिएको जापानले त्यसलाई प्रमाणित गर्दै युरोपका दुई बलिया टोली नेदरल्यान्ड्स र स्विडेनसँग बराबरी खेलेको छ।

सन् २०२२ को विश्वकपमा जर्मनी र स्पेनलाई हराउँदै अन्तिम १६ को यात्रा तय गरेको जापानले खेलकुदको सबैभन्दा ठूलो मञ्चमा जस्तोसुकै अप्रत्याशित नतिजा निकाल्न सक्ने क्षमता विश्वलाई देखाइसकेको छ।

जापानका प्रशिक्षक हाजिमे मोरियासुले टोलीको सामूहिक भावनाले उनीहरूलाई फेरि अन्तिम १६ मा पुर्‍याउन सक्ने बताए।

आइतबार मोरियासुले भने, ‘सबै खेलाडीले टोलीका लागि सक्दो योगदान गर्नेछन्। टोली एकजुट छ र यो भावना अहिले अझ बलियो बन्दै गइरहेको छ।’

विश्वकपमा जापानको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको चार पटक (सन् २००२, २०१०, २०१८ र २०२२) अन्तिम १६ मा पुग्नु हो। उनीहरूले विश्वकपको नकआउट चरणमा अहिलेसम्म कुनै खेल जितेका छैनन्।

ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
सन् १९९३ मा सुरु भएको जापानको शीर्ष डिभिजन लिग ‘जे-लिग’ ले ब्राजिलबाट धेरै प्रेरणा लिएको थियो र त्यहाँका थुप्रै खेलाडीहरूलाई अनुबन्ध पनि गरेको थियो।

ब्राजिलको प्रख्यात सन् १९८२ को विश्वकप टोलीका मुख्य खेलाडी जिकोलाई सन्यासबाट फर्काएर काशिमा एन्ट्लर्समा आबद्ध गराइएको थियो। त्यसपछि बिस्मार्क र एलिभेल्टनजस्ता अन्तर्राष्ट्रिय खेलाडीहरूमार्फत ब्राजिलको राष्ट्रिय टोलीका खेलाडीहरू जापान जाने क्रम सुरु भयो।

सन् १९९० को दशकको अन्त्यसम्ममा कप्तान डुङ्गासहित सन् १९९४ को विश्वकप जित्ने ब्राजिलको टोलीका सात जना खेलाडीले जापानी क्लबबाट खेलिसकेका वा खेलिरहेका थिए। यसरी उनीहरूले जापानको द्रुत रूपमा विकास भइरहेको फुटबलमा आफ्नो प्रभाव छोडेका थिए।

खेलको पूर्वानुमान
ओप्टाको सुपरकम्प्युटरले निर्धारित समयभित्र ब्राजिलले यो खेल जित्ने सम्भावना ५८.३ प्रतिशत रहेको आकलन गरेको छ। यस्तै जापानको जित्ने सम्भावना १८.१ प्रतिशत रहेको देखाएको छ। खेल अतिरिक्त समय वा पेनाल्टीसम्म पुग्ने सम्भावना २३.६ प्रतिशत रहेको छ।

ब्राजिल र जापानबिचको विजेताले अन्तिम १६ मा नर्वे वा आइभरी कोस्टमध्ये एकको सामना गर्नेछ।

हेड-टु-हेड
यी दुई टोलीबिच अहिलेसम्म भएका खेलको नतिजा हेर्दा ब्राजिलले जापानसँग एक पटक मात्र हार व्यहोरेको छ । यसमा ११ जित, २ बराबरी, १ हार समावेश छन्। २० वर्षअघि जर्मनीमा भएको सन् २००६ को विश्वकपमा यी दुई टोली भिड्दा ब्राजिल ४-१ गोलले विजयी भएको थियो।

उल्लेखनीय कुरा के छ भने, जापानले ब्राजिलमाथि हात पारेको एकमात्र जित भर्खरै अक्टोबर २०२५ मा भएको मैत्रीपूर्ण खेलमा हो। टोकियोमा भएको उक्त खेलमा ब्राजिलले सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा जापानले ३-२ गोलको जित निकालेको थियो। घरेलु टोली जापानका लागि उएदाले विजयी गोल गरेका थिए।

टोलीको जानकारी
ह्यामस्ट्रिङ चोटका कारण ब्राजिलका राफिन्हा मैदान बाहिर नै रहनेछन् भने घुँडाको चोटका कारण जापानका ताकेफुसा कुबोले पनि खेल्ने छैनन्।

अक्टोबर २०२३ पछि पछिल्लो खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै ब्राजिलका लागि पुनरागमन गरेका नेयमार जापानविरुद्ध बढी समय मैदानमा उपलब्ध हुनेछन्। पिँडुलाको लामो चोटबाट मुक्त हुँदै गरेका स्टार फरवार्ड पूर्ण रूपमा फिट हुने प्रयासमा छन्।

ब्राजिलको सम्भावित सुरुवाती-११: (४-३-३): एलिसन (गोलकिपर), डानिलो, मार्किन्होस, ग्याब्रियल, सान्तोस, गुइमारेस, क्यासेमिरो, पाक्वेटा, रायन, कुन्हा, भिनिसियस जुनियर।
जापानको सम्भावित सुरुवाती-११: (३-४-२-१): सुजुकी (गोलकिपर), तोमियासु, तानिगुची, इतो, डोआन, सानो, तानाका, नाकामुरा, इतो, कामदा, उएदा।
अल जजिरा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖