काठमाडौं, असार १७ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको कृत्रिम अभाव देखिएको छ। धेरै पम्पले ‘पेट्रोल छैन’ भन्दै बिक्री वितरण बन्द गरेका छन् भने सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा सवारीसाधनको लामो लाइन लागेको छ।
उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा इन्धन भर्न सवारीको भीड लागेको छ भने बानेश्वर आसपासका धेरै निजी पम्प बन्द रहेका छन्। उपत्यकाबाहिरका केही जिल्लामा पनि यस्तै अवस्था देखिएको छ।
नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो।
निगमले भने बजारमा इन्धनको वास्तविक अभाव नरहेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार केही व्यवसायीले मूल्य घट्ने जानकारी पाएपछि पुरानो मूल्यमा रहेको मौज्दात बचाउन नयाँ इन्धन लोड नगरी कृत्रिम अभाव सिर्जना गरेका हुन्।
उनले निगमले पर्याप्त मात्रामा इन्धन उपलब्ध गराइरहेको र जानाजानी इन्धन नलोड गर्ने वा ‘इन्धन छैन’ भन्दै बिक्री बन्द गर्ने पम्पमाथि अनुगमन सुरु गरिएको बताए। यस्तो कार्यमा संलग्न पम्प भेटिए सिल गरेर कारबाही गरिने चेतावनी पनि निगमले दिएको छ।
प्रवक्ता ठाकुरका अनुसार केही पम्पको भण्डारण क्षमता कम भएकाले सीमित स्थानमा आपूर्तिमा सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्र बजारमा पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको छ।
