काठमाडौ । फ्रान्सका कप्तान किलियन एमबाप्पे चालु फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्।
पछिल्लो खेलमा गोल गर्दै एमबाप्पेले प्रतियोगितामा आफ्नो सातौँ गोल पूरा गरेका हुन्। यससँगै उनी गोल्डेन बुटको दौडमा मेसीसँग बराबरीमा पुगेका छन्।
एमबाप्पेले हालसम्म ५ खेलमा ७ गोल र २ असिस्ट गरेका छन् भने मेसीले केवल ४ खेलमै ७ गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्।
सर्वाधिक गोलकर्ताको सूचीमा अहिले मेसी र एमबाप्पे समान ७–७ गोलसहित शीर्ष स्थानमा छन्। उनीहरूबीचको प्रतिस्पर्धाले गोल्डेन बुटको दौडलाई थप रोमाञ्चक बनाएको छ।
यस्तै, नर्वेका अर्लिङ हालान्ड र इङ्ग्ल्यान्डका ह्यारी केन समान ५–५ गोलसहित तेस्रो स्थानमा रहेका छन्। हालान्डले मात्र ३ खेलमै ५ गोल गरेका छन् भने केनले ४ खेलमा ५ गोल गरेका हुन्।
त्यसैगरी फ्रान्सका ओस्मान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार समान ४–४ गोलसहित सूचीको अर्को स्थानमा छन्। डेम्बेले र भिनिसियसले २–२ असिस्ट दिएका छन् भने ओयारजाबाल र सारको नाममा १–१ असिस्ट रहेको छ।
विश्वकप नकआउट चरण रोमाञ्चक बन्दै जाँदा गोल्डेन बुटको प्रतिस्पर्धा पनि मेसी र एमबाप्पेबीचको मुख्य आकर्षणका रूपमा अघि बढिरहेको छ।
