• Sunday 4th of October 2026

ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन्, आज के हाेला ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ असार । पाँच पटक विश्वकप बिजेता टोली ब्राजिलले  फिफा विश्वकपको ‘राउन्ड अफ १६’ मा नर्वेको सामना गर्दैछ ।

तर, अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन।  ब्राजिल र नर्वेबीचको खेल न्यु जर्सी रंगशालामा आज राती १ः४५ बजे सुरु हुदैँछ।

नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डको लयलाई हेर्दा यो खेल ब्राजिलका लागि अझै पनि सहज हुनेछैन। हालान्डले यस प्रतियोगितामा पाँच गोल गरेका छन्। ‘गोल्डेन बुट’ को दौडमा उनी हाल मेस्सी र एमबाप्पेभन्दा पछि पर्दै तेस्रो स्थानमा रहेका छन्।

ब्राजिल र नर्वेबीच हालसम्म कुल चारवटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। यीमध्ये नर्वेले दुई खेल जितेको छ भने दुई खेल बराबरीमा टुंगिएका छन्। पाँच पटकको च्याम्पियन ब्राजिल नर्वे विरुद्ध आफ्नो पहिलो जितको प्रतीक्षामा छ। यी दुई टोली फिफा विश्वकपमा दोस्रो पटक आमने सामने हुदैँछन्। यसअघि सन् १९९८ को विश्वकपमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गरेको थियो।

ब्राजिलको टोली यस प्रतियोगितामा हालसम्म अपराजित रहेको छ। टोलीले खेलेका ४ मध्ये ३ खेल जितेको छ भने एउटा खेल बराबरीमा टुंगिएको छ। ‘राउन्ड अफ ३२’ मा उनीहरूले जापानलाई २–१ ले पराजित गरे। यसअघि समूह चरणमा उनीहरूले स्कटल्याण्ड र हाइटीलाई समान ३–० ले हराएका थिए जबकी मोरक्को विरुद्धको खेल १–१ को बराबरीमा सकिएको थियो।

अर्कोतर्फ, नर्वेले आफ्ना ४ मध्ये तीन खेल जित्यो र एउटामा हार बेहोरेको छ । ‘राउन्ड अफ ३२’ मा टोलीले आइभोरी कोस्टलाई २–१ ले पराजित गर्यो। त्यस अघि समूह चरणमा उनीहरूले इराकलाई ४–१ र सेनेगललाई ३–२ ले हराएका थिए भने फ्रान्ससँग ४–१ को हार बेहोर्नु परेको थियो ।

ब्राजिलले ४ गोल गरिसकेका फरवार्ड भिनिसियस जुनियरबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ, ब्राजिलका मिडफिल्डर लुकास पाक्वेटाले पनि राम्रो प्रदर्शन गरेका छन्। अर्कोतर्फ नर्वेली टोली स्ट्राइकर अर्लिङ हालान्डको खेलमा निर्भर रहनेछ।

दुबै टोलीका लागि सम्भावित प्लेइङः

ब्राजिलः एलिसन बेकर, ड्यानिलो, मार्किन्होस, गेब्रियल म्यागाल्हेस, वेन्डेल, ब्रुनो गुइमारेस, जोआओ गोम्स, राफिनहा, लुकास पाकेटा, भिनिसियस जुनियर, रोड्रिगो।

नर्वेः ओर्जन नाइल्यान्ड, जुलियन रायरसन, एन्ड्रियास ह्यान्चे(ओल्सेन, लियो ओस्टिगार्ड, डेभिड वोल्फ, मार्टिन ओडेगार्ड, प्याट्रिक बर्ग, स्यान्डर बर्गे, ओस्कर बब, जोर्गेन स्ट्रान्ड लार्सन, एर्लिंग हालान्ड।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖