• Sunday 4th of October 2026

फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त


  • धनकुटा खबर
  • .

काठमाडाैं। कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनको मद्दतले मोरक्कोलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको बोस्टनस्थित जिलेट स्टेडियममा सम्पन्न रोमाञ्चक पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पाखा लगाएको हो।

यो जितसँगै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ, जसले उसको आधुनिक फुटबलको बलियो साखलाई थप मजबुत बनाएको छ। यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी चुमेको थियो भने सन् २०२२ को कतार विश्वकपमा उपविजेता बनेको थियो।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहे पनि कुनै पनि टोलीबाट गोल हुन सकेन। फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेले पहिलो हाफमा प्राप्त पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्न सकेनन्, जसका कारण मोरक्कोले फ्रान्सेली आक्रमणलाई केही समय दबाबमा राखेको थियो। मोरक्कोले पनि रक्षात्मक रूपमा बलियो खेल प्रदर्शन गर्दै फ्रान्सलाई कडा टक्कर दिएको थियो।

दोस्रो हाफमा भने फ्रान्स निकै आक्रामक रूपमा प्रस्तुत भयो र खेल आफ्नो नियन्त्रणमा लियो। पहिलो हाफमा पेनाल्टी चुकाएका कप्तान एमबाप्पेले खेलको ६०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।

मोरक्को उक्त गोलको धक्काबाट सम्हालिन नपाउँदै फ्रान्सले अर्को प्रहार गर्‍यो। पहिलो गोल गरेको ६ मिनेटपछि अर्थात् खेलको ६६औँ मिनेटमा एमबाप्पेले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उस्मान डेम्बेलेले गोल गरेर फ्रान्सको अग्रता दोब्बर बनाए।

खेलको बाँकी समयमा मोरक्कोले पुनरागमनका लागि केही प्रयास गरे पनि फ्रान्सको बलियो रक्षापंक्तिलाई तोड्न सकेन र खेल २-० को नतिजामा टुंगियो। ऐतिहासिक रूपमा सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर सनसनी मच्चाएको मोरक्कोको चुनौती यसपटक क्वाटरफाइनलमै सकिएको छ।

अब फाइनल प्रवेशका लागि फ्रान्सले सेमिफाइनल खेलमा बलिया प्रतिद्वन्द्वीहरू बेल्जियम र स्पेनबीच हुने अर्को क्वाटरफाइनल खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖