काठमाडौँ, असार २६ — नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनबारे सरकारको कडा आलोचना गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले गणेश नेपालीको मृत्युलाई “राज्यले गरेको हत्या” को संज्ञा दिँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले सरकार जनताको सुरक्षा गर्नभन्दा उनीहरूलाई निराशाको अवस्थासम्म पुर्याउने काममा लागेको आरोप लगाए।
गृहमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले भने, “स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ। राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्याएको छ। सुकुमबासी हुन् वा गणेश नेपाली, नागरिकलाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ। यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ।”
महरले निरंकुश राणा शासनविरुद्ध योगमाया न्यौपानेले गरेको जलसमाधिको प्रसंग उल्लेख गर्दै गणेश नेपालीको आत्मदाहले पनि वर्तमान सरकारलाई राजनीतिक रूपमा ठूलो मूल्य चुकाउनुपर्ने दाबी गरे।
उनले भने, “योगमाया न्यौपानेको जलसमाधिले राणा शासन ढल्यो भने गणेश नेपालीको आत्मदाहका कारण यो सरकारले पनि ठूलो मूल्य चुकाउनुपर्नेछ। यो हत्याको जिम्मेवार यो सरकार नै हो।”
आफ्नो सम्बोधनको अन्त्यमा महरले सरकार जनताको पक्षमा नभई जनतालाई पीडामा धकेल्ने काममा लागेको आरोप लगाउँदै “यो सरकार मुर्दावाद” भन्ने नारासमेत लगाएका थिए।
साथै, सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरिरहँदा गरिबका लागि स्वास्थ्य बिमा सुविधा कटौती गरेको भन्दै उनले सरकारको नैतिकतामाथि पनि प्रश्न उठाए।
