काठमाडौँ। वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार (स्थानीय तहसहित) र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्नेछ।
सहमतिअनुसार छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
घटनाका दिन फिल्डमा खटिएका काठमाडौं महानगर प्रहरीका कर्मचारीलाई तत्कालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनका आधारमा थप कारबाही गरिने सहमति पनि भएको छ।
यस्तै, पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने तथा महानगरको आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने उल्लेख छ।
सहमतिमा अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात तथा काठमाडौं बसाइ खर्च, शव बुझ्ने र पोस्टमार्टमलगायत कानुनी प्रक्रिया सहज बनाउने तथा परिवारका एकाघरका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने जिम्मेवारी पनि सरकार र काठमाडौं महानगरपालिकाले लिने उल्लेख गरिएको छ।
