• Sunday 4th of October 2026

मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए


  • धनकुटा खबर
  • .

एटलान्टा । लियोनेल मेस्सीले दुई पटक उपाधि जित्दा मैदानमा निर्णायक भूमिकामा रहेका रेफ्री इश्माइल इलफातले विश्वकप अन्तर्गत इंग्ल्याण्ड र अर्जेन्टिनाबिचको सेमिफाइनल खेल खेलाउने भएका छन्।

४४ वर्षीय अमेरिकी रेफ्री इलफातले यस चालू विश्वकपमा यसअघि जापान र नेदरल्याण्ड्स तथा उरुग्वे र स्पेनबिचको समूह चरणका खेलहरू खेलाइसकेका छन्। यसबाहेक पाँच पटकको विजेता ब्राजिलविरुद्ध नर्वेले अन्तिम १६ मा हात पारेको जितमा पनि उनले नै रेफ्रीको भूमिका निभाएका थिए।

जारी प्रतियोगितामा उनले ६ वटा पहेँलो कार्ड जारी गरिसकेका छन् भने स्पेनका डिफेन्डर पाउ कुबार्सीविरुद्ध खतरनाक ट्याकल गरेबापत उरुग्वेका मिडफिल्डर अगस्टिन कानोबियोलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए। रातो कार्ड पाएपछि आक्रोशित बनेका कानोबियोले रेफ्री इलफातलाई समात्दै उनको जर्सी नै तानेका थिए। एटलान्टामा बुधबार नेपाली समयअनुसार राती पौने १ बजे हुनेछ।

यस खेलमा इलफातलाई सघाउन अमेरिकी सहायक रेफ्रीहरू कोरी पार्कर र काइल एटकिन्स रहनेछन् भने चौथो अधिकारीका रूपमा इटालीका माउरिजियो मारियानी रहनेछन्। इलफात सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदा चौथो अधिकारीका रूपमा मैदानमा थिए।

यसैगरी मेस्सीले इन्टर मियामीका लागि आफ्नो पहिलो उपाधि जित्दा अर्थात् २०२३ को लिग कप फाइनलमा न्यासभिल एससीविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्दा इलफात नै मुख्य रेफ्री थिए। सन् २०१२ देखि मेजर लिग सकर (एमएलएस) मा रेफ्री गरिरहेका उनले दुई पटक ‘एमएलएस वर्ष रेफ्री’ को अवार्ड जितिसकेका छन्। मूल रूपमा मोरक्कोका निवासी इलफात १८ वर्षको उमेरमा अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) चिट्ठा जितेर अमेरिका बसाइँ सरेका थिए।

अर्कोतर्फ, इंग्ल्याण्डका चर्चित रेफ्रीहरू माइकल ओलिभर र एन्थोनी टेलर फिफाको स्वार्थ बाझिने सम्बन्धी नियमका कारण विश्वकप फाइनल खेलाउने दौडबाट बाहिरिएका छन्। फिफाको नियमअनुसार रेफ्रीहरूले आफ्नै देश संलग्न भएको खेल खेलाउन पाउँदैनन्। यसका साथै सन् १९८२ को फकल्याण्ड युद्धका कारण सिर्जना भएको राजनीतिक प्रतिद्वन्द्विताका कारण अंग्रेजी र अर्जेन्टिनी रेफ्रीहरूले यी दुई देश संलग्न रहेका खेलहरू खेलाउन पाउँदैनन्।

यही नियमका कारण अर्जेन्टिनी रेफ्री फेकुन्डो टेलो पनि बाहिरिएका छन्। सेमिफाइनलमा इंग्ल्याण्ड र अर्जेन्टिना भिड्ने भएपछि यी तीनै जना रेफ्रीहरू तेस्रो स्थानका लागि हुने प्ले-अफ खेल खेलाउनका लागि समेत अयोग्य भएका छन्, किनकि सो खेलमा यी दुईमध्ये एक टोलीको सहभागिता पक्का हुनेछ।

यसअघि यही नियमकै कारण टेलरले सन् २०२२ मा अर्जेन्टिना र फ्रान्सबिच भएको विश्वकप फाइनल खेल खेलाउन पाएका थिएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖