• Wednesday 7th of October 2026

एक युवकको गोली हानी हत्या


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटको सदरमुकाम गौरका एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ।

वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने मुलसडकमा पर्ने रमगढ्वामा मंगलवार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।

रमगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हत्या गरिएको अनुमान गरिएको छ।

भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो।

नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए ।

गोली लागेर सिंह ढलेपछि उनले सङ्कलन गरी ल्याएको २९ लाख भारतीय रुपैयाँ उक्त समूहले लुटेर भाग्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

चार जनाको सङ्ख्यामा आएका लुटेरा समूहले सिंह माथि गोली प्रहार गरेको थियो। उक्त समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो गाडी प्रहरीले घटनास्थल बाट बरामद भएको तथा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

रौतहट प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले घटनाको पुष्टि गर्दै, मृतकको शव मंगलवार साँझ पीडित परिवारको जिम्मा लगाइएको तथा थप अनुसन्धान भारतीय प्रहरीले गरिरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖