काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ ।
उक्त गीतमा प्रयोग गरिएका शब्द र भावले शिक्षक तथा शिक्षण पेसाकै अपमान गरेको भन्दै महासंघले यसको प्रशारण तत्काल रोक लगाउन समेत छ ।
महासंघको राष्ट्रिय समितिले आज एक विज्ञप्ति जारी गर्दै आगामी भदौ ५ गतेबाट प्रदर्शन हुन लागेको ‘मास्टर्नी’ को प्रमोसन गीतमा आपत्ति प्रकट गरेको हो । हालै सार्वजनिक गीतले महिला शिक्षकहरूलाई लक्षित गरी अमर्यादित शब्द र भाव प्रस्तुत गरेको ठहर महासंघको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ ।’
