काठमाडौं । चौतर्फी आलोचना र विरोधपछि चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका लागि सार्वजनिक गरिएको गीत युट्युब तथा अन्य सामाजिक सञ्जालबाट हटाइएको छ। गीतले शिक्षक पेसाको मर्यादामा आँच पुर्याएको भन्दै व्यापक विरोध भएपछि गायक दुर्गेश थापा र अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीले शुक्रबार राति छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका हुन्।
गायक दुर्गेश थापाले दर्शक तथा शुभचिन्तकहरूको भावनाको सम्मान गर्दै आफ्नो आधिकारिक युट्युब च्यानल र अन्य सामाजिक सञ्जालबाट उक्त गीत हटाइएको जानकारी दिएका छन्। उनले शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानित व्यक्तित्व भएको उल्लेख गर्दै मनोरञ्जनका उद्देश्यले तयार पारिएको सामग्रीबाट अन्जानमै कसैको भावनामा चोट पुगेको भए क्षमा मागेका छन्। साथै, आगामी दिनमा थप जिम्मेवार र परिपक्व सिर्जना प्रस्तुत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यस्तै, अभिनेत्री एवं निर्मात्री प्रियंका कार्कीले जारी गरेको विज्ञप्तिमा उक्त गीत चलचित्रको मूल कथावस्तुको हिस्सा नभई केवल प्रचारप्रसारका लागि निर्माण गरिएको स्पष्ट पारेकी छन्। उनले कला र सिर्जनाका माध्यमबाट कुनै पनि सम्मानित पेसा वा व्यक्तित्वको गरिमामा आँच पुर्याउने उद्देश्य नरहेको बताउँदै अनजानेमा भएको त्रुटिप्रति माफी मागेकी छन्।
कार्कीले यस घटनालाई सिकाइको अवसरका रूपमा लिएको उल्लेख गर्दै भविष्यमा सिर्जनाहरू छनोट गर्दा थप संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता जनाएकी छन्।
गीत सार्वजनिक भएलगत्तै नेपाल शिक्षक महासंघसहित विभिन्न शैक्षिक सरोकारवाला निकाय तथा सर्वसाधारणले यसको शब्द र प्रस्तुतीकरणप्रति कडा आपत्ति जनाएका थिए। सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि अन्ततः निर्माण पक्षले गीत हटाउने र सार्वजनिक रूपमा क्षमायाचना गर्ने निर्णय गरेको हो।
