• Tuesday 6th of October 2026

दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि….


  • धनकुटा खबर
  • .

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहभागी एक कार्यक्रममा दुई महिलाले आत्महत्या गर्ने चेतावनी दिएपछि केहीबेर कार्यक्रम अवरुद्ध भएको छ।

शुक्रबार अपराह्न काठमाडौंस्थित एभरेस्ट होटलमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रम चलिरहेका बेला प्रसाईंले सम्बोधन गरिरहेकै समयमा दुई महिलाले आफूहरूको समस्या समाधान नभए आत्महत्या गर्ने भन्दै चिच्याउँदै मञ्चतर्फ अघि बढेका थिए। त्यसपछि आयोजकले उनीहरूलाई नियन्त्रणमा लिँदै अवस्था सामान्य बनाएका थिए।

रुँदै आक्रोश व्यक्त गर्ने महिलाहरू हेटौँडाकी शान्तिकुमारी कार्की र काठमाडौंकी सरिता कार्की रहेको जनाइएको छ। उनीहरूले बैंकको ऋण र ब्याजका कारण आफूहरू उठिबास हुने अवस्थामा पुगेको गुनासो गरेका थिए।

कार्यक्रममा प्रसाईंले देश गम्भीर आर्थिक संकट र भूराजनीतिक दबाबमा परेको दाबी गर्दै आगामी दसैँतिर नेपालमा विदेशी सेना आउने तथा दलाई लामाले त्यसको विरोध गर्ने दाबी गरेका थिए। उनले देशको आर्थिक अवस्था अत्यन्त जटिल बनेको उल्लेख गर्दै समस्या समाधान नभए सिंहदरबार र बालुवाटारअगाडि एकै दिन ५० जनाले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्ने अभिव्यक्ति पनि दिएका थिए।

कार्यक्रम सम्पन्न भएपछि प्रसाईंले ती महिलासँग भेट गरी उनीहरूको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖