हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ कार्तिक । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरू ’सिकाइसँगै कमाइ’ कार्यक्रमका लागि भदौ अन्तिम साता इजरायल गएका थिए । सोही समूहमा कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी पनि इजरायल गएका थिए । अघिल्लो शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा विपिन बेपत्ता भए । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।
इजरायल घटनाका क्रममा १० जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाए । त्यहाँबाट ज्यान जोगाएका अन्य विद्यार्थीहरूलाई सरकारले स्वदेश ल्याएको छ । तर उक्त घटना भएकै दिनदेखि विपिन जोशी भने बेपत्ता छन् । यस खबरले विपिनको घरपरिवारमा सन्नाटा छाएको छ । उनको घरपरिवारले विपिनको खोजिकार्य गरिदिन अनुनय विनय गरिरहेका छन् । विपिनकी आमा पदमा जोशीको बोल्दाबोल्दै गला अवरुद्ध हुन्छ । विपिन बेपत्ता भएको खबर सुनेदेखि परिवारमा रुवाबासी चलेको छ । विपिनकी हजुरआमा ८४ वर्षीया कल्पना जोशी पनि नाति विपिनको खोजी कार्य गरिदिन हारगुहार गर्छिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार धनगढी आउने खबर सुनेपछि उनलाई भेटेरै छोराको खोजि गरिदिन आग्रह गर्न विपिनका बुवा महानन्द जोशी भने एकाबिहानै धनगढी गए । “दश दिन भयो, परिवारका कसैको पनि मुखमा गास परेको छैन, छोरा बेपत्ता भएको सुनेदेखि उसकी आमा मुर्छा परिरहेकी छिन् । हाम्रो छोरा सकुशल फर्कियोस् भनेर देवी–देवता भाकेर बसिराखेका छौँ । म राहत शिक्षक छु । छोराको चिन्ताले विद्यालयमा जान पनि सकेको छैन । अन्तर्राष्ट्रिय समुदायलाई अनुनय गरेर भए पनि मेरो छोरा फिर्ता ल्याइदिए हुन्थ्यो । हाम्रो सरकारसँग यही कामना छ ।”
विपिनको खोजिकार्य भइरहेको र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था तथा कूटनीतिक नियोगसँग पनि सहयोग मागेको सरकारले जनाएको छ । विपिन जोशीको घरपरिवार, छरछिमेकी तथा आफन्तजन यति बेला भाव विह्वल देखिन्छन् । उनको खोजी गरी छिटोभन्दा छिटो स्वदेश फर्काउनु सरकारको दायित्व हो ।-नेपालबोध
