काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ।
संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। घटनामा चिकित्सकको टाउकोमा गम्भीर चोट लागेको तथा अस्पतालमा तोडफोडसमेत गरिएको जनाएको छ।
उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले मंगलबार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो।
संघले दोषीमाथि कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चितता तथा स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण कायम गर्न सरकारसँग माग गरेको छ।
